काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्ने नेता डा. शेखर कोइराला पक्षको अडानलाई बेवास्ता गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्य समितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकमा कोइराला पक्षका नेताहरुले चुनावी गठबन्धनमा जान नहुने बताएपनि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने सर्वसम्मत निर्णय भएको बताए ।
महतले भने,‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय भएको छ । यो विषयमा यहाँहरुले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्तत्वगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय पार्टीले सर्वसम्मतबाट गरेको छ ।’ मंगलबारको बैठकपछि कुनै प्रतिक्रिया नजनाएपनि महामन्त्री गगन थापा चुनावी गठबन्धन नगर्ने एजेण्डा केन्द्रीय समितिबाट पारित गर्ने यसअघि बताउँदै आएका थिए ।
त्यस्तै शेखर कोइरालाले त पटक पटक पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन बनाएर चुनावमा गएको खण्डमा कांग्रेसको अस्तित्व सकिने बताउँदै आएका थिए । कोइराला गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताउँदै आएका छन् । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको कोइरालाले देउवालाई बताएका थिए । तर सभापति देउवा भने पार्टीका नेताहरुलाई कम्युनिष्टहरु मिले चुनाव हारिने भन्दै त्रास देखाउँथे । हो देउवाले यस्तै त्रास देखाएर चुनावी गठबन्धन गर्छन् भन्ने पूर्वानुमान अनुसार नै केन्द्रीय समितिबाट यो निर्णय गराएका छन् ।
खासमा महाधिवेशनपछि देउवालाई एकलौटी निर्णय गर्नबाट शेखर पक्षले रोक्छ भन्ने धेरैमा अपेक्षा थियो । किनकी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरुले सभापतिलाई मनमौजी ढंगले हिँड्न दिँदैनन् भन्ने अनुमान थियो । तर उनीहरुको केही लागेन । सभापति देउवालाई पार्टीका नेताहरुको भन्दा गठबन्धनका दलहरु प्यारो लागे जस्तै भयो । देउवाले आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न यस्तो निर्णय गरेको कांग्रेसका कतिपय नेताहरुले बताउने गरेका छन् । सुजाता कोइरालालाई देउवाले गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री पायो, पाँच प्रदेशमा मुख्यमन्त्री पायो भन्ने अभिव्यक्ति दिन लगाए । त्यस्तै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले वामपन्थी दललाई मिलाउन खोजिरहेको सूचना पाएको भन्दै गृहमन्त्रीबाट धारणा सार्वजनिक लगाए । यसबाट कांग्रेस नेताहरुलाई तालमेलको पक्षमा लाग्न दबाब भएको कतिपय कांग्रेस नेताहरुको विश्लेषण छ ।
पूर्वराजदूत निलाम्बर आचार्य कांग्रेस र कम्युनिष्ट देशका मुद्दा विशेषमा एकसाथ हुन सक्नु स्वभाविक भएपनि यो लोकतान्त्रिक बहुदलीय पद्धतिमा र वैचारिक प्रतिबद्धतामा ह्रास आउनुको रुपमा बुझ्नुपर्ने बताउँछन् ।
कांग्रेसकै कतिपय नेता तथा राजनीतिक विश्लेषकहरुले पनि चुनावी गठबन्धन कांग्रेसका लागि घातक हुने बताउँदै आएका छन् । गठबन्धन कांग्रेसका लागि फाइदा हुने कि घाटा भन्नेकुरा त वैशाख ३० पछि थाहा हुनेनै छ । तर अहिलेलाई चुनावी गठबन्धनमा जाने निर्णय भने देउवाले गरेरै छाडेका छन् । यस मामलामा शेखर पक्षलाई किनारा लगाउन भने देउवा सफल भएका छन् ।
