लोसपालाई सरकारमा ल्याउने देउवाको तयारी, प्रचण्डको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। ‘प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए। प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा ल्याउने तयारी गर्दैगर्दा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्। प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण खुमलटार पुगेका थिए ।

प्रधानमन्त्रीको सन्देशमा प्रचण्डले अनिच्छुक देखाएको माओवादी नेताले बताए। ‘उपेन्द्र यादवजी सरकारमै हुनुहुन्छ। उहाँ सरकारमा हुँदाहुँदै महन्थजीलाई सरकारमा सहभागी गराउनु उहाँ(प्रचण्ड)ले ठीक मान्नुभएन,’ ती नेताले भने। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *