सकसमा देउवाः कोइराला पक्षलाई मनाउने कि गठबन्धनलाई खुसी बनाउने ?

काठमाडौं । शुक्रबार दिउँसो एकातिर नेपाल विद्यार्थी संघको तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पा पदभार ग्रहण गर्दै थिए । त्यसैबेला पार्टी नेता डा. शेखर कोइराला पक्षको सुझावविनै अध्यक्ष तोकिएको भन्दै उनी निकट विद्यार्थीहरु सानेपामा विरोधमा उत्रिएका थिए । उनीहरुको नारा थियो, ‘अरु केही जान्दैनौ, एकाधिकार मान्दैनौं।’ एकलौटी रुपमा सभापति शेरबहादुर देउवाले दुजाङलाई नेविसंघको अध्यक्षमा नियुक्त गरेको भन्दै कोइराला पक्ष देउवाप्रति असन्तुष्ट बनेको हो । त्यस्तै तरुण दलको अध्यक्षमा पनि देउवा निकट नेता विद्वान गुरुङलाई नियुक्त गरिएको छ । यसमा पनि शेखर पक्षले आपत्ति जनाएको छ । नेविसंघ र तरुण दलको अध्यक्षमा गरेको मनोनयविरुद्ध कोइराला पक्षधर तरुण–विद्यार्थीहरूले छुट्टै भेला गर्ने निर्णय गरेका छन् । उनीहरुले चैत १४ गते भेला आयोजना गर्ने निर्णय गरेका हुन् ।

कोइराला पक्षले दबाब दिएपछि सभापति देउवाले कोइरालासँग यसबारे शुक्रबारै वार्ता गरे । वार्तामा कोइरालाले एकलौटी ढंगले अघि बढेको भन्दै देउवालाई समानान्तर समिति बनाउने चेतावनी दिए । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटमा कोइरालाले यस्तो चेतावनी दिएपछि सभापति देउवाले आफू सबैलाई मिलाएर अघि बढ्ने जवाफ दिएका छन् । देउवाले मिलाएर अघि बढ्ने बताएपनि कोइराला पक्षले छुट्टै भेला बोलाइसकेको छ ।

त्यसपछि पार्टीको केन्द्रीय समिति बैठकमा पनि देउवाले केन्द्रीय सदस्यहरुको ठूलो सामना गर्नुपर्यो । बैठकमा अधिकांश प्रदेश सभापति तथा शुक्रबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले चुनावी गठबन्धन नगर्न सुझाव दिएका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइरालाले बैठकमा माओवादीसँग मिल्दा चितवनका जनताले रुखमा भोट हाल्न बिर्सने खतरा बढेको बताएका थिए । उनले बैठकमा अरू जिल्लामा कांग्रेसले माओवादीलाई छाड्ने तर चितवनमा मात्र किन गठबन्धन गर्ने ? भन्दै प्रश्न गरे । उनले भने,‘चितवनमा यदि गठबन्धन हुन्छ भने माओवादीले २०७४ मा कांग्रेसलाई धोका दिएको छ । इमान्दारपूर्वक विना स्वार्थ सहयोग गर्छौं भन्नुपर्छ, नत्र हुँदैन। चुनावमा कांग्रेसलाई धोका दियौँ । एमालेमा गएर भोट हाल्यौँ, गल्ती गर्यौँ, अब सहकार्य गरौँ हामी विना सर्त कांग्रेसलाई सहयोग गर्छौं भने बहस हुनुपर्छ ।’

कोइरालको भनाइप्रति असन्तुष्टि जनाउँदै सभापति देउवाले अहिलेसम्म चितवनमा जितेको छ ? भन्दै प्रश्न गरेका थिए । देउवाको भनाई थियो, ‘चितवनमा चुनाव हामीले जितेकै छैन । एक्लै पनि जित्छौँ भन्छन् यार साथीहरू । मलाई थाहा छ गठबन्धन नगरी चितवन जित्यो ? अहिलेसम्म जित्यो ? अब पनि जित्छ ?’ यसबाट के स्पष्ट हुन्छ भने देउवा चितवनमा चुनावी गठबन्धन गर्ने पक्षमा छन् । तर कोइराला पक्ष भने चितवनमा मात्र नभई सबै ठाउँमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा छ ।

स्थानीय तह निर्वाचन आउन दुई महिना पनि बाँकी छैन । तर कांग्रेसमा कलह सुरु भएको छ कोइराला र देउवा पक्षबीच । तर देउवा एकलौटी ढंगले अघि बढे प्रतिवादमा उत्रिने कोइराला पक्षले चेतावनी दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने झैं एक्लै चुनावी मैदानमा उत्रिन गठबन्धन दलहरुसँग आँट छैन भन्ने कुरा यसबाट पनि स्पष्ट भएको छ । चुनावी गठबन्धनका बारेमा कांग्रेस केन्द्रीय समितिको निर्णय कुरेर बसेका छन् नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टी पनि । तर गठबन्धन नगर्न केन्द्रीय सदस्यहरुको दबाबले देउवालाई ठूलै समस्या पर्ने देखिएको छ । यस्तो अवस्थामा कसरी बढ्लान् त देउवा ? हिम्मत गर्लान् त एक्लै चुनावमा जान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *