पानीको स्रोत संरक्षणका लागि नीति, कानून कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छन् ।

विश्व पानी दिवसको अवसर पारेर बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माटो र बोटबिरुवा नबोल्ने भएकाले मानिसले मात्र पानीको उपयोग गर्ने गरेकामा विज्ञले समानुपातिक वितरणका लागि भूमिका खेल्नुपर्ने बताइन् ।

पानी दिवस मार्च २२ का दिनमात्र औपचारिक रुपमा मनाएर अरु दिन वास्ता नगर्ने बानीमा सुधार ल्याउनुपर्ने उनको भनाइ थियो । “विसं २०५१ देखि बागमती सफा बनाउन कार्यक्रम सुरु गरिए पनि अझै सुधार हुन सकेको छैन, इच्छुमति त राजधानीमै हराइसकेको छ, राजधानीका ढुङ्गेधारामा पानी आउँदैन, नौ पोखरी, नौ धाराको प्राचीन इतिहास भएको पशुपति क्षेत्रबाट त्यो लोप भएको छ, शिवपुरी जलाधार क्षेत्रमा पनि घर, भवन बन्न थाले भन्ने कुरा आएका छन्, भूमिगत पानीको सतह तल गएपछि जमिन पनि भासिन थालेको छ”, राष्ट्रपति भण्डारीले भनिन् ।

अध्ययन अनुसन्धानपछि विकास निर्माणमा जानुपर्नेमा त्यसो हुन नसक्दा पनि समस्या हुने गरेको राष्ट्रपति भण्डारीले बताइन् । विश्वविद्यालय कमजोर हुँदा पनि यस्ता काममा समस्या आउन थालेकाले राष्ट्रलाई बलियो बनाउने राजनीतिमा सबै लाग्नुपर्नेमा उनले सबैको ध्यानाकर्षण गराइन् ।

यस विषयमा विज्ञहरुले दिएको सुझाव सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सुझावका रुपमा प्रस्तुत गरिने राष्ट्रपति भण्डारीको प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *