थाइल्याण्डविरुद्ध हुने खेलको लागि नेपाली शुरुवाती ११ घोषणा

काठमाडौं । थाइल्याण्डविरुद्ध केहि समयमा हुने मैत्रीपूर्ण खेलको लागि नेपालको शुरुवाती ११ घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा नेपालको शुरुवाती ११ घोषणा गरेका हुन् ।

थाइल्यान्डको चोनबरीमा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:४५ बजे शुरु हुनेछ ।

आजको खेलमा नेपाल सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । तुलात्मक रुपमा बलियो र फिफा वरीयतामापनि माथि रहेको थाइल्यान्डविरुद्ध नेपाललाई अनुभव बटुल्ने राम्रो अवसर रहेको छ ।

नेपाललाई आजको खेलमा आफ्नो कमजोरी औल्याउँदै सुधार्ने मौकापनि रहेको छ । थाइल्यान्डविरुद्ध भएको पछिल्लो ३ भेटमा नेपाल पराजित भएको छ । पछिल्लोपटक सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले ७-० गोलको फराकिलो हार बेहोरेको थियो । नेपाली टोली झन्डै आधी दर्जन नियमित सदस्यबिना थाइल्यान्ड पुगेको छ ।

ए- डिभिजन लिग च्याम्पियन मछिन्द्र फूटबल क्लबले एएफसी कप छनोट अन्तर्गत चैत २२ मा श्रीलंकन क्लब ब्लु स्टारसँग खेल्दैछ । त्यसैले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मछिन्द्रका खेलाडीलाई टोलीमा राखेका छैनन् ।

नेपालको शुरुवाती ११:- किरण चेम्जोङ(गोलकिप्पर/कप्तान), एरिक विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुरज जीउ ठकुरी; सुमन लामा, पुजन उपरकोटी, तेज तामां ; अन्जन विष्ट, दर्शन गुरुङ, आयुष घलान

Leave a Reply

Your email address will not be published. Required fields are marked *