चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन टुट्दैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । बिहीबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धन नटुट्ने बताएका हुन् । उनले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए ।

उनले भने, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।” नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने, “चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन ।”

भरतपुर महानगरपालिकामा उनकी छोरी रेनु दाहाल प्रमुख छिन् । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।

प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् । उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *