प्रधानमन्त्रीको हेलिकप्टर मोह

काठमाडौं । बुधबार काठमाडौंको चन्द्रागिरिमा दुई दिने दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम थियो । सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बालुवाटारबाट हेलिकप्टर चढेर चन्द्रागिरि पुगे । सम्मेलनको उद्घाटनका लागि हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट पुगेका प्रधानमन्त्री देउवालाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका अन्य सहभागीहरुले स्वागत गरेका थिए ।

तामझामका साथ सम्मेलनको प्रधानमन्त्रीले उद्घाटन गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्रीले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठूला समस्याहरुको सामना गर्नु परिरहेको र यस्ता समस्याहरु प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनले पारेको असरका कारण उत्पन्न भएको उल्लेख गरे ।

हिउँ पग्लिने, हिमनदी पग्लिने, बढ्दो खडेरी, अस्वभाविक वर्षा, बाढी र पहिरो आदिका कारण पहाड पर्वतलाई बढी मात्रामा प्रभाव पारेको भन्दै प्रधानमन्त्री देउवाले मानवीय जीवन र पर्यावरणीय सन्तुलनमा पहाड र पर्वतको महत्वका बारेमा विश्वव्यापी रुपमा नै चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बिहीबारसम्म चल्ने सम्मेलनमा प्रत्यक्ष र जुम प्रविधिमार्फत विश्वका १२ देशका झण्डै डेढ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलन आयोजना गर्नु सही थियो । किनकी अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठूला समस्याहरुको सामना गर्नु परिरहेको छ । नेपाल त यसबाट झनै ठूलो समस्यामा परेको छ । यस विषयमा विश्वको ध्यानाकर्षण गराउन मानवीय जीवन र पर्यावरणीय सन्तुलनमा पहाड र पर्वतको महत्वका बारेमा विश्वव्यापी रुपमा नै चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि छ ।

खासमा यहाँ सम्मेलनको विरोध गर्न खोजिएको होइन । सडकमार्गबाटै बढीमा ४५ मिनेटमा पुगिने स्थानमा हेलिकोप्टर चढेर जानुपर्ने थियो त भन्ने हो । प्रधानमन्त्री हेलिकप्टर चढेर चन्द्रागिरि पुगेको विषयलाई लिएर एकजना सामाजिक संजाल प्रयोगकर्ता अर्जुनप्रसाद ढुंगानाले लेखेका छन्, ‘जनताले तिरेका कर नेताहरूका लागि हलुवास्वारी मिठाई सरह ।’ उनको यो भनाई केवल उनको व्यक्तिगत पक्कै होइन । हाम्रो प्रणालीमाथिको बेथितिको प्रश्न हो ।

अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा प्रधानमन्त्री निवास बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज होस् भनेर प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण गरिएको छ । बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सरकार हुँदा प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्मित हेलिप्याडबाट पहिलो पटक संखुवासभा गएका थिए र साँझ निवास फर्किदा हेलिकप्टर त्यही हेलिप्याडमै अवतरण गरिएको थियो । त्यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण गरिएको भन्दै ओली सरकारको आलोचना पनि गरिएको थियो । आलोचना गर्नेमा कांगेस नेताहरु पनि थिए ।

बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा यसले सहज गराएको छ । लामो दूरीको यात्रामा यो ठिकै पनि हो । तर आफू सत्ता बाहिर हुँदा यही कुराको विरोध गर्ने अनि आफू सत्तामा पुगेपछि अलि बढी नै सुखसयल गर्ने गर्दा पक्कै नसुहाउनुपर्ने हो । हेलिकप्टरबाट आवतजावत गर्न खर्चका हिसावले पनि महंगो नै पर्छ । त्यसमा पनि गाडीबाट जाँदै पनि जम्मा ४५ मिनेटमा पुग्ने ठाउँमा हेलिकप्टरमै जानुपथ्र्यो त ? खर्चमा मितव्ययिता अपनाउनुपर्ने होइन र । अर्जुनप्रसाद ढुंगानाले भनेजस्तै यो त जनताले तिरेका कर नेताहरूका लागि हलुवास्वारी मिठाई सरह नै भयो नि भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *