USAID

राष्ट्रिय महिला लिग आजबाट, उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग-२०७८ को पहिलो चरण आजबाट भरतपुरमा शुरु हुँदैछ । आज हुने लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपीएफ क्लब र उपविजेता त्रिभुवन आर्मी फूटबल क्लब भिड्दैछन् ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदानमा उत्रिनेछन् । साविक विजेता एपीएफ आजको खेल जित्दै उपाधि रक्षाको सुखद शुरुवात गर्न चाहन्छ । एपीएफ लगातार चारपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । गत वर्ष लिगमा अपराजित रहँदै एपीएफले उपाधिमा ह्याट्रिक गरेको थियो ।

यता आर्मी भने यसपटकपनि लिगमा एपीएफको दबदबालाई चिर्ने दाउमा रहेको छ । गत वर्ष महिला लिगकै क्रममा घुँडामा चोट बोकेकी एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी यसै लिगमार्फत मैदानमा पुनरागमन गर्दैछिन् । झण्डै १३ महिना मैदान बाहिर रहेकी सावित्राको आठ महिना अगाडि घुँडाको सफल शल्यक्रिया भएको थियो । उनले गत सिजन १० खेल खेल्दै ४३ गोल गरेकी थिइन् ।

चैत ३० गतेसम्म हुने पहिलो चरण भरतपुरमा हुनेछ भने दोस्रो चरण विराटनगरमा हुनेछ । लिगमा ८ टोलीले सहभागिता जनाउँदै छन् ।

सहभागी टोलीमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फूटबल क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उप-महानगरपालिका, विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

लिग विजेताले २० लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले ५ र चौथो हुने टोलीले ३ लाख रुपैयाँ पाउनेछन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.