USAID

ठेकी निर्माता ‘चुँदारा’ सङ्कटमा

भोजपुर । ‘कालो ठेकी नारान कालो काठको
रातो ठेकी दारको
दिन आउँछ रिम्दै घुम्दै जोवन एक बारको
हजुर कर्मै रिसाउने’(कालो ठेकी उस्ताद साहिँला)

परम्परागत रुपमा गरिँदै आएको काठको ठेकी बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । विगत वर्षमा धेरैले सो काम गर्दै आए पनि अहिले हराउन लागेको छ । संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिस बताउँछन् ।

धेरै मेहनतका साथ खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले पेसा छाड्दै गएको ५० वर्षभन्दा बढी समयदेखि चँुदारा पेसा गर्दै आएका टेम्केमैयुुङ गाउँपालिका –८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । उनले भने,‘मेहनत धेरै गर्नुपर्छ । कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् । खोलाखोल्सीमा चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम छ । हाम्रो पुर्खौली पेसा सङ्कटमा पर्न थालेको छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुनेथियो ।’

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ । उनका अनुसार पछिल्लो समय त्यस्ताको काठसमेत अभाव हुँदै गएको छ । ‘‘काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफँैले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौँ । हामीले ज्याला मात्र लिने हो’’, रत्नबहादुरले भने,‘‘हामीले एक पाथी जाने ठेकी बनाएको २५० देखि ३०० रुपैयाँसम्म ज्याला लिने गरेका छौँ । दुई जनाले दिनभर काम गरेको एक हजार पाँच सयसम्म हुन्छ ।’’

आफूले पाउँदै आएको ज्याला समयसुहाउँदो नभएको उनको गुनासो छ । मेहनतका आधारमा प्रतिफल नहुने र नयाँ पुस्ताले चासो नदिँदा पेसा हराउने अवस्थामा पुगेको उनले बताए । रत्नबहादुरले भने,‘‘ यो काम गरेर हामीले जीवन गुजारा गर्न सकेका छैनौँ । हिउँदका समयमा खोलामा पानी कम हुने भएकाले काम निरन्तर हँुदैन, वर्षातमा मात्र हुन्छ । काम गर्न झन्झट हुने भएकाले धेरैले सो पेसा नै गर्न छाडे । हामी दुई मिलेर काम गरिरहेका छौँ । धेरैतिर बोलाएका हुन्छन् । समय दिन पनि गाह्रो हुन्छ । पेसा जोगाउन नै समस्या छ ।’’

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँडबाट पङ्खामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) का सहायताले काठ कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । त्यसका साथै हातले यन्त्र घुमाएर पनि काठका सामग्री बनाउन चलन छ । चँुदाराले कलात्मक रूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुँदारा काम गर्दै आएका अर्का स्थानीयवासी जङ्गबहादुर विकले बताए । उनले भने, ‘‘हामीले बलका भरमा परम्पगत रुपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यही विधिअनुसारको काम गर्दैआएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकार पक्षबाट सहयोग गरे हुने थियो तर यो पेसाको संरक्षणमा खास कसैको सहयोग छैन ।’’

पेसा जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने जङ्गबहादुरको भनाइ छ । तालिमको व्यवस्था गरेर सीप सबैमा विस्तार गर्नुपर्ने उनले बताए । ‘‘सीप विस्तार गर्न सकिएन भने काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यका तर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेसा बचाइराख्न सकिन्थ्यो जस्तो लाग्छ । अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ ।’’

काष्ठ पैदावारबाट पेसा सञ्चालन हुने भएकाले यसको संरक्षण तथा विकासमा अन्य निकायसँग सहकार्य गरेर जीवन्त राख्न पहल गरिने डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनले भने,‘‘ मैले भोजपुरको चोलन्तीमा पुगेर काम गरिरहकै ठाउँबाट नै उनीहरूको समस्या सुनेँ । उपयुक्त काठको अभाव रहेको जानकारी पाएको छु । वन कार्यालयले त्यस्ता काठको संरक्षण तथा थप विस्तारमा सहयोग गर्ने योजना बनाएको छ । यस्ता परम्परागत पेसाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने ठानेको छु ।’’

संरक्षण गरिने

टेम्केमैयुङ गाउँपालिकाले यसको संरक्षणमा ध्यान दिने बताएको छ । उनीहरूको समस्याको थप पहिचान गरेर नयाँ पुस्तालाई समेत समावेश गर्दै पेसालाई जीवन्तता दिइने गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । उनले भने, ‘‘यो एउटा परम्परागत पेसा हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । आगामी दिनमा यसलाई थप आधुनिकता दिँदै आवश्यक साथ सहयोग संरक्षण गर्ने मेरो योजना छ । ।’’

यो पेसामा आबद्ध रहेकाहरूको तथ्याङ्क सङ्कलन गरेर समस्याको पहिचान गरी पेसालाई निरन्तरता दिन पहल गरिने आश्वासन अध्यक्ष राईले दिए । ‘‘यो पुरानो शैलीमा सञ्चालन भइरहेको छ । सहज रूपमा सञ्चालन गर्नका लागि विद्युतीय उपकरणको प्रयोग गर्नुपर्छ”, अध्यक्ष राईले भने,‘‘ मेहनतअनुसारको ज्याला पाउने गरी यसलाई कसरी थप विस्तार गर्ने भन्ने सोच गाउँपालिकाको छ ।’’

परम्परागत रुपमा सञ्चालन हुँदै आएका यस्ता पेसाको संरक्षणमा सरोकार पक्षले ध्यान दिनपर्ने स्थानीयवासी एकराज विष्टले बताए । राज्यका तहबाट यस्ता पेसालाई प्राथमिकता नदिइने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने उनको भनाइ छ । रैथाने पराम्परगत पेसाको संरक्षण गर्नका लागि ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए । विष्टले भने, ‘‘जसरी हुन्छ, यो पेसा जोगाउनु पर्ने अवस्था छ । धेरैले पेसा छाड्दै जाँदा यस्तो काम गर्ने मानिस पाउन नै मुस्किल छ । अब पनि संरक्षणमा ध्यान नदिने हो भने पेसा लोप हुने पक्का जस्तै छ ।’’

गोरस अभाव

केही बूढापाकाले स्थानीयस्तरमा काठका सामग्री बनाउने चँुदाराको काम गरिरहे पनि यो व्यावसायिक रुपमा भने कसैले पनि गरेको पाइँदैन । व्यावसायिक रुपमा काम अघि नबढाउँदा पेसा झनै सङ्कटमा परेको समाजका अगुवाले बताउने गरेका छन् । खास गरेर गाउँघरमा गाईभैंसीको दूध, दही र नौनी जमाउनका लागि काठका भाँडा प्रयोगमा आउने गरेका छन् ।

पछिल्लो समयमा गाईभैँसीपालन पेसा पनि मानिसले छाड्दै गएको अवस्थाले गोरसका अभावमा ठेकीको काम पनि त्यति आउँदैन । व्यावसायिक रुपमा काम नगरिँदा आवश्यक परेका खण्डमा तत्काल पाउन मुस्किल हुने देखिएपछि मानिसले बजारमा आएका विभिन्न खालका भाँडा प्रयोग ल्याउने भएकाले यो पेसामा थप समस्या थपिँदै गएको छ । ग्रामीण क्षेत्रका मानिसले गाईभैँसी पाल्ने र दूध जमाउनका लागि काठका ठेकीको प्रयोग गर्दै आए पनि किन्नु परेमा बजारमा सहज रूपमा पाउने अवस्था छैन ।

व्यावसायिक रूपमा पेसा नअपनाउँदा गाउँले मिलेर जिल्लाका अन्य ठाउँबाट चुँदारा बोलाई ठेकी कुँद्ने अवस्था रहेको टेम्केमैयुङ –५ मझौलेका शिवकुमार विष्टले बताए । उनले भने,‘‘अझै पनि गाउँघरमा काठका ठेकीलगायत सामग्रीको प्रयोग हटेको छैन तर यस्तो काम गर्ने मान्छे पाउन मुस्किल पर्छ । खास समस्या भनेको यसको व्यवसायीकरण हुन सकेको छैन । बजार गएर सहज रूपमा किन्न पाउने अवस्था छैन । हामी गाउँले मिलेर चँदारालाई बोलाएर ठेकी कुँद्न लगाएका छौँ । व्यावसायिक हुने हो भने हामीले यस्तो गरिरहनैपर्ने थिएन ।’’

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने मानिस व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ ।

परम्परागत रुपमा गाईभैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउँदै गएको छ । बजारमा आधुनिक स्टिल लगायत प्लास्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउदै गएको हो । बजारमा पाइने प्लाष्टिक तथा स्टिलका भाडामा भन्दा गाउँमै कुदेर बनाइएका काठका यस्ता ठेकीमा दूध जमाएर दही जमाउन तथा मोही पार्न सजिलो हुन्छ ।

त्यस्तै काठका भाँडामा जमाइएको परिकार स्वस्थ्यकर हुनाका साथै स्वादिष्ट हुन्छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने रुखका काठका ससाना आकारका गोलिया कुँदेर ठेकी बनाउने चलन छ । दही, दूध स्वादिष्ट हुने भएकाले दार काठको ठेकी अत्यन्तै मन पराइने स्थानीयवासीले बताउँछन् ।

चुँदाराले दूध जमाइने ठेकीबाहेक मोही पार्नै ठेका, कोसी, आरी र खुर्पेटा कुदेर आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाक, रुखान, सादनलगायत औजारको प्रयोग हुन्छ । नयाँ पुस्ताको ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागत रुपमा नै ठेकी बनाउने प्रचलन छ । काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा चँुदाराले श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या छ ।

पेसा थप विस्तार गर्न यसलाई आयआर्जनसँग जोड्नुपर्ने स्थानीयवासीको माग छ । राज्यका तहबाट यसको संरक्षणमा ध्यान नपुगेकाले व्यवसायसँग जोड्नका लागि ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ । स्थानीय तहले यस्ता खालका परम्परागत रैथाने पेसा–व्यवसाय संरक्षण गर्नुपर्ने स्थानीयवासी जयप्रसाद राईले बताए ।

उनले भने, ‘‘यस्ता पेसा –व्यवसायसँगै रीतिरिवाज रहनसहनको संरक्षणमा पनिस्थानीय तहले भूमिका खेल्नुपर्छ । यस्ता कुराको संरक्षण गर्दै थप विस्तार गर्ने हो भने देशको आर्थिक विकासमा पनि टेवा पुग्छ । यो पेसा निरन्तरताका लागि युवालाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तथा व्यावसायिक बनाउन उत्प्रेणा थप्नुपर्ने आवश्यकता छ । यस्ता खालका मौलिक पेसा हाम्रो देशको सम्पत्ति हुन् ।’’

CivActsAd

Leave a Reply

Your email address will not be published.