काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर विभिन्न एजेण्डामा छलफल हुनेछ ।
दुई दिन चल्ने बैठकमा स्थानीय चुनावको घोषणापत्र, उम्मेदवार छनोट मापदण्ड, चुनावी तयारीमा संगठन परिचालन र अन्य चुनावी रणनीतिबारे छलफल हुने बताइएको छ। त्यस्तै अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि छलफल र सातै प्रदेशका अध्यक्षको रिपोर्ट प्रस्तुत हुने एजेण्डा छ ।
यसअघि पोलिटब्यूरो बैठकले उम्मेदवारको मापदण्ड प्रस्ताव गरिसकेको छ। त्यसैगरी कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।