काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच सोमबार हुने भनिएको भर्चुअल संवाद कार्यक्रम आज हुने भएको छ ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल गर्न सोमबार पूर्वनिर्धारित कार्यक्रम तय भए पनि सलमानको स्वास्थ्य अवस्थाको कारण देखाउँदै आजलाई सारिएको थियो।
ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सलमान दुई दिन नेपालमा रहने तय भए पनि आयोजक थप एक दिन समय थप्न प्रयासरत रहेको समेत ओडिसीका प्रवन्धत्र निर्देशक सिमान्त गुरुङले बताए। सोमबारको पूर्वनिर्धारित भिडियो संवाद कार्यक्रम आयोजकले नेपालबाट पैसा नहालेका कारण स्थगित भएको चर्चाबारे भने आयोजकले सलमानको स्वास्थ्यको कारणबाहेक अन्य कारण नरहेको दाबी गरेको छ।
पूर्वनिर्धारित संवाद कार्यक्रम एकाएक रद्द भएपछि सलमानले संवादपूर्व ठूलो राशि अग्रीम भुक्तानी खोजेको चर्चा बाहिरिएको थियो तर आयोजकले भने सेलिब्रेटिलाई नेपाल ल्याउन पटकपटक पहल गरिहेकाले बाहिरी चर्चा हल्ला मात्रै भएको समेत दाबी गरिएको छ। नागरिक दैनिकबाट