अफगानिस्तान द्वन्द्वलाई रिपोर्टिङ गर्ने क्रममा हत्या गरिएका अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीको परिवारले उनको मृत्युको छानविन गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दर्ता गरेको छ ।
उनीहरूले सिद्दिकीको हत्यामा संलग्न तालिबानका नेता तथा उच्चस्तरका कमाण्डरलगायत जिम्मेवार व्यक्तिहरूलाई कानूनी सजायको माग गर्दै निवेदन दिएका हुन् ।
१६ जुलाई २०२१ मा तालिबानद्वारा यातना दिएर मारिएका पुलिट्जर विजेता फोटो–पत्रकार सिद्दीकीका आमाबाबु प्राध्यापक अख्तर सिद्दीकी र श्रीमती शाहिदा अख्तरले पत्रकार छोराको हत्याको छानविन गर्न र तालिबानका नेता तथा उच्चस्तरीय कमाण्डरलगायत जिम्मेवार व्यक्तिहरूलाई कानूनी कठघरामा उभ्याउन अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) अभियोजनकर्तासमक्ष उजुरी दर्ता गराएका हुन् ।
निवेदन अन्तर्राष्ट्रिय फौजदारी कानूनमा राम्रो अनुभव भएका नयाँ दिल्लीस्थित सिसेरो च्याम्बर्सका अधिवक्ता अवि सिंहमार्फत दायर गरिएको हो । सिंहले मुद्दामा परिवारको प्रतिनिधित्व गर्नेछन् । भर्चुअल पत्रकार सम्मेलनमा परिवारको प्रतिनिधित्व गर्दै आएका अधिवक्ता अवि सिंहले डेनिस सिद्दीकीको परिवारले औपचारिक उजुरी दर्ता गराएको बताए ।
अधिवक्ता सिंहले भने, “१६ जुलाई २०२१ मा भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीलाई अवैध रूपमा तालिवान समूहद्वारा पक्राउ गरियो, यातना दिइयो, अङगभङ्ग गरियोे र हत्या गरिएको थियो ।” उक्त घटना अफगानिस्तानमा पृथक घटना नभएको भन्दै पत्रकारलगायत सर्वसाधारणमाथि आक्रमण गर्नेसँग सम्बन्धित थुप्रै घटना भएको उनले बताए । पीडित परिवारका अनुसार सिद्दीकी तत्कालिन सरकार विरोधी तालिबान फौजको हातबाट मानवता र युद्ध अपराधको सिकार भएका थिए ।
३८ वर्षीय सिद्दीकी भारतमा रोयटर्सका मुख्य फोटोग्राफर थिए । अफगानिस्तानमा भएको हिंसालाई समेट्ने क्रममा कान्दहार प्रान्तको स्पिन बोल्डक जिल्लामा उनको मृत्यु भएको थियो । डेनिस सिद्दीकी आमा शाहिदा अख्तरले भनिन्, “ हाम्रो प्यारो छोरा डेनिसलाई आफ्नो पत्रकारिताको कर्तव्य पूरा गर्ने क्रममा पक्राउ गरी बर्बर यातना दिई मारिएको थियो ।
उनी काममा सधैं इमानदारी र निष्ठाको पक्षमा खडा हुने साहसी व्यक्ति थिए ।” अन्तर्राष्ट्रिय फौजदारी अदालतले अफगानिस्तानमा मानवता विरुद्धका अपराध र युद्ध अपराधलगायत अन्तर्राष्ट्रिय अपराधका विषयमा अनुसन्धान गरिरहेको छ । अफगानिस्तान सरकारले रोमको कानूनलाई मान्यता दिएपछि यस मुद्दाको अधिकार छ । नयाँ दिल्लीवासी सिद्दीकीका श्रीमती र दुई सन्तान रहेका छन् ।