एजेन्सी । दक्षिण कोरियाली स्ट्राइकर ह्युङ मीन सन चम्केको खेलमा टोटेन्हामले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा टोटेन्हामले वेस्टहामलाई ३-१ गोलले पराजित गरेको हो ।
टोटेन्हाम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन ह्युङ मीन सनले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । वेस्टहामको लागि साइद बेन्रहमाले एक गोल फर्काए । खेलको नवौं मिनेटमा कुर्ट जोउमाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि टोटेन्हामले शुरुवाती अग्रता लिएको थियो ।
२४ औं मिनेटमा केनको पासमा सनले गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा डाव्सनको पासमा बेन्रहमाले गोल गर्दै वेस्टहामलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर ८८ औं मिनेटमा केनकै पासमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामलाई ३-१ गोलको जीत दिलाए ।
जीतसँगै टोटेन्हाम २९ खेलबाट ५१ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित वेस्टहाम ३० खेलबाट ४८ अङ्कको साथ सातौं स्थानमा झरेको छ ।