पछुताउँदै प्रचण्ड

काठमाडौं । सशस्त्र युद्ध अन्त्य गरी माओवादी शान्ति प्रक्रियामा आएपछि मुलुकमा ठूलो परिवर्तन हुने अपेक्षा नेपाली जनताको थियो । माओवादी शान्ति प्रक्रियामा आएसँगै २४० वर्षदेखिको राजतन्त्र हट्यो । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र घोषणा गरियो । माओवादीको माग थियो संधिवानसभामार्फत संविधान निर्माण गर्ने । सोही माग अनुसार २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । निर्वाचनमा माओवादीप्रति ठूलो जनलहर देखियो । नेपाली कांग्रेस र नेकपा एमाले केही सिटमा सीमित भए भने माओवादीले एकल सरकार बनायो । खासमा गणतन्त्र घोषणापछि मुलुकको पहिलो राष्ट्रपति बन्ने चाहना कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई थियो ।

कोइरालासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेको खबर सार्वजनिक भएका थिए । तर अन्तिम समयमा आएर माओवादी र त्यसमा पनि प्रचण्डले धोका दिए । माओवादीले कोइरालालाई भित्ते राष्ट्रपति बनाउने भन्यो । त्यसपछि कोइरालाले डा. रामबरण यादवलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारे । र यादव राष्ट्रपतिमा निर्वाचित भए । प्रधानमन्त्री बने प्रचण्ड । त्यो बेला कोइरालालाई भित्ते राष्ट्रपति बनाउने निर्णय प्रचण्डलाई सही लागेको थियो । माओवादी त्यसमा खुसी थियो । प्रधानमन्त्री प्रचण्डले त्यसपछि सेनामा हात हाल्न थाले । अर्थात् प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई हटाउने निर्णय गरे र कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाए ।

तर उनको त्यो निर्णय राष्ट्रपति यादवले रोके । सरकारको निर्णयमा राष्ट्रपतिले हस्तक्षेप गरेको भन्दै प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए । ९ महिनामै माओवादीको सरकार ढल्यो । त्यसपछि माओवादीले ठूलो आन्दोलन गर्यो । यी निर्णय गर्दा त्यतिबेला प्रचण्डलाई कुनै पछुतो लागेको थिएन । यदि माओवादी सही रुपमा अघि बढेको भए राजनीति अहिले जस्तो अस्थीर नहुने र मुलुक विकासको गतिमा हिँड्ने अहिले पनि धेरैले बताउने गरेका छन् । तर माओवादी अध्यक्ष प्रचण्ड सरकार बनाउने र ढाल्ने खेलमा लागिरहे । त्यो क्रम रोकिएन र अहिले पनि जारी छ ।

कहिले कांग्रेससँग मिल्ने त कहिले एमालेसँग मिल्ने अनि तिनैलाई धोका दिने प्रवृत्ति अहिले पनि जारी छ । कांग्रेसँग मिलेर सरकार बनाउँदा छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकको मेयर बनाएका प्रचण्डले कांग्रेसलाई धोका दिँदै एमालेसँग पार्टी एकता गरे । तर त्यो एकतापनि धेरै टिकेन । यसबीचमा प्रचण्डले जे जे निर्णय गरे जनताले गलत भने पनि उनी भने सही भएको बताउँदै आएका थिए । तर पछिल्लो समय भने प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र रुक्माङ्गद कटुवाललाई हटाउने निर्णय गलत थियो भन्दै पछुताउन थालेका छन् ।

गत आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश एक स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई हटाउनु आफ्ना लागि पछुतोको विषय बनेको बताए । उनले कटुवाललाई प्रधानसेनापतिबाट हटाउन तत्कालीन माओवादी नेताहरु डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको पनि बताए । तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटुवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको पनि उनले स्मरण गरे । उनले भने, ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् । म अलिक उदार मान्छे। दायाँ बाबुराम, बायाँ बादल छन् । बढो क्रान्तिकारी भएर तीन महिनापछि घर जान लागेका रुक्माङ्गदलाई हटाउँदा सरकार र राष्ट्रपति सबै गयो।’

त्यसबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थमन्त्री र बादल रक्षामन्त्री थिए । अहिले बाबुराम जनता समाजवादी पार्टीमा छन् भने बादल नेकपा एमालेमा । १५ वर्षपछि प्रचण्डलाई पछुतो लागेको विषय यदि निर्णय गर्नु अघि राम्रो सोचविचार गरी गरेको भए आज मुलुक कहाँ पुग्थ्यो होला त ? पक्कै पनि अहिलेको जस्तो राजनीतिक अस्थीरता हुने थिएन होला । आफूले गरेका धेरै निर्णयप्रति अहिले पछुताउन थालेका प्रचण्डले ‘जनयुद्ध’ पनि गलत थियो भनेर पछुताउने दिन पनि आउने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *