काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो । पार्टीभित्र देखिएका जल्दाबन्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वाटरले आवश्यक निर्णय गर्नेगरी हेडक्वाटर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिए ।
कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वाटरले आवश्यक निर्णय गर्ने जनाइएको छ । कार्यकारिणी सदस्य राईका अनुसार बैठकले स्थानीय निर्वाचन निर्देशिका २०७८ को उम्मेद्वार चयनलगायत मापदण्ड पारित गरेको छ । समसामयिक राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने निर्णयसमेत बैठकले गरेको छ । जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ । जसपाको बैठकले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय भएको छ । पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए । जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको पनि सपार्टीले जनाएको छ ।