श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा भारतको क्लिन स्विइप

एजेन्सी । श्रीलंकाविरुद्ध घरेलु मैदानमा भएको टेस्ट सिरिजमा भारतले क्लिन स्विइप गरेको छ । सोमबार सम्पन्न दोस्रो तथा अन्तिम टेस्टमा श्रीलंकालाई २ सय ३८ रनले पराजित गर्दै भारतले दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।

जीतको लागि ४ सय ४७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ५९.३ ओभरमा २ सय ८ रनमै समेटियो । श्रीलंकाको लागि डिमुथ कारुनारात्नेले सतक र कुसल मेन्डेसले अर्धसतक बनाएपनि टोलीलाई जीत दिलाउन सकेनन् । डिमुथले १ सय ७४ बलमा १५ चौकासहित १ सय ७ रन बनाउँदा कुसलले ५४ रन बनाए । उनले ८ चौका प्रहार गरे ।

भारतको लागि रविचन्द्रन आश्विनले १९.३ ओभरमा ५५ रन दिएर ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राले ३, अक्सर पटेलले २ र रविन्द्र जडेजाले एक विकेट लिए ।

यसअघि चिन्नाश्वामी रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले ५९.१ ओभरमा अलआउट हुँदै २ सय ५२ रन बनाएको थियो । भारतको लागि श्रेयस आयरले सर्वाधिक ९२ रन बनाउँदा ऋषव पन्तले ३९, हनुमा बिहारीले ३१ र विराट कोहलीले २३ रन बनाएका थिए ।

श्रीलंकाको लागि लासिथ एम्बुलडेनिया र प्रभिन जयाविक्रमाले ३/३ विकेट लिँदा धनन्जय डी सिल्भाले २ र सुरान्गा लक्मलले १ विकेट लिए

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका ३५.५ ओभरमा १ सय ९ रनमै समेटियो । टोलीको लागि एन्गेलो माथेउसले ४३, निरोशन डिकवेलाले २१ र धनन्जय डी सिल्भाले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

श्रीलंकालाई सस्तैमा रोक्न जस्प्रित बुम्राले ५, रविचन्द्र आश्विन र मोहमद शामीले २/२ विकेट लिँदा अक्सर पटेलले एक विकेट लिए ।

पहिलो इनिंसमा १ सय ४३ रनले अगाडि रहेको भारतले दोस्रो इनिंगमा ६८.५ ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३ रन बनाउँदै इनिंस सकिएको घोषणा गरेको थियो । भारतको लागि श्रेयस आयरले सर्वाधिक ६७ रन बनाउँदा ऋषव पन्तले ५० रन बनाए । यस्तै रोहित शर्माले ४६, हनुमा बिहारीले ३५, मयंक अग्रवाल र रविन्द्र जडेजाले २२/२२ रनको योगदान गरे ।

श्रीलंकाको लागि प्रविन जयाविक्रमाले ४, लाशिट एम्बुलडेनियाले ३ विकेट लिँदा विश्वा फेर्नान्डो र धनन्जय डे सिल्भाले १/१ विकेट लिए ।

यसअघि दुई टोलीबीच भएको पहिलो टेस्टपनि भारतले इनिंस र २ सय २२ रनले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *