काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आज पेसीमा चढेको हो ।
रिटमा सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो ।
नेकपा एमाले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।