सडकमै पार्किङस्बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त

काठमाडौं । काठमाडौंको बौद्ध–जोरपाटी सडक खण्डको पिपलबोट क्षेत्रमा पसल खोलेर बसेका लक्ष्मण तिम्सिनाले सडक दुर्घटना नदेखेको दिन बिरलै हुन्छ। उनका स्मृतिमा आँखै अगाडि दैनिक रूपमा भएका दुर्घटना र कैयौं मानिसले ठाउँको ठाउँ ज्यान गुमाएका दृश्य अटेसमटेस बनेर रहेका छन्।

‘एउटादुइटा दुर्घटना नदेखेको त दिन नै हुन्न। कैयौं मानिसले आँखैअगाडि प्राण त्यागेको देखेको छु,’ उनी भन्छन्, ‘सवारीसधान आपसमा ठोक्किने, हिँडिरहेका मानिसलाई ठक्कर दिने घटना त यो क्षेत्रका लागि सामान्यजस्तै बनिसक्यो।’

उनको बुझाइमा त्यस क्षेत्रमा दुर्घटनाको मुख्य कारण अव्यवस्थित पार्किङ हो। ‘ट्राफिक प्रहरीले कडाइ गर्दा सडकको एक छेउमा मात्र पार्किङ हुन्छ। अरू बेला दोहोरै पार्किङ हुन्छ। पार्किङले साँघुरिएको सडकमा तीव्र गतिमा गाडी गुड्दा दुर्घटना त हुने नै भो नि१’ उनी भन्छन्।

व्यवसायी तिम्सिनाले भनेजस्तै बौद्धदेखि जोरपाटीसम्म जाँदा सडकभरि जथाभाबी पार्किङ देख्न सकिन्छ। ट्राफिक प्रहरीका अनुसार त्यो क्षेत्रमा एकोहोरो पार्किङ त सामान्य नै भएको छ। त्यसलाई ट्राफिक प्रहरीले हटाउन पनि छाडेको छ।

‘एकोहोरो पार्किङको के कुरा भो र, त्यो त बाध्यता नै छ। त्यो पनि गर्न नदिए ट्राफिक व्यवस्थापनमै समस्या छ यो क्षेत्रमा,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाको बौद्ध ट्राफिक एकाइ इन्चार्ज प्रहरी निरीक्षक सुरज खड्का भन्छन्, ‘यहाँ दोहोरै पार्किङ गर्ने चलन थियो। अहिले धन्न एकोहोरो नै भए पनि व्यवस्थापन गर्न सकेका छौं।’

उनको भनाइमा महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास पनि सहमत छन्। ‘यो अव्यवस्थित पार्किङबारे वडालाई सोध्नुस्। वडाले नै सडकमा सवारीसाधन राख्न दिने भनेपछि हामीले के भन्ने?’ उनले भने, ‘हामीले त सकेसम्म व्यवस्थापन गर्ने कोसिस गर्ने हो। जब जनप्रतिनिधिमूलक संस्थाले नै व्यवस्थापनको विकल्प नदिएपछि के गर्ने?’

प्रहरी निरीक्षक खड्काका अनुसार सो क्षेत्रभरि पर्याप्त मात्रामा ‘पेइङ पार्किङ’को व्यवस्था छैन। यहाँका व्यावसायिक भवनहरूमा पनि पार्किङ छैन। जसले गर्दा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘सडकमै जोडिएका धेरै व्यावसायिक भवनमा समेत पार्किङ छैन। अर्को विकल्प नभएपछि सडकमा पार्किङ नगरेर के गर्ने?’ उनी भन्छन्।

सो क्षेत्रमा पुराना घरको बाहुल्य रहेकाले पनि पार्किङको समस्या देखिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे बताउँछन्। ‘४०–५० वर्षयता सडकछेमा घर बनिरहेका छन्। ती प्रायः घरमा पार्किङको व्यवस्था भने गरिएको छैन,’ उनले भने, ‘अब घरै हटाउन मिलेन। जस्तो छ, त्यसैमा काम चलाउने हो।’

नयाँ बन्ने घरका हकमा भने नक्सा पास हुँदा नै पार्किङ अनिवार्य गरिएको उनले बताए। सो क्षेत्रको सडकमा पार्किङ समस्याको मुख्य कारण सडक क्षेत्रमै भएका सयौं कार्यालय पनि हुन्। ‘यहाँ सडक क्षेत्रमै कैयौं बैंक शाखा छन्। धेरैवटा सरकारी कार्यालय पनि यहीँ नै छन्। तिनका आफ्नै पार्किङ छैनन्। ती बैंक तथा सरकारी कार्यालयमा आउने सेवाग्राही सडकमै पार्किङ गर्छन्,’ उनले भने।

यो समस्या समाधानका लागि तत्काल अपनाउन सक्ने उपाय आफूहरूसँग केही नभएको उनले बताए। त्यस क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडकछेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *