रोनाल्डोको कीर्तिमानी ह्याट्रिकमा युनाइटेडको शानदार जीत

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई ३-२ गोलले पराजित गर्दै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गर्दा टोटेन्हामको लागि ह्यारी केनले एक गोल फर्काए । टोटेन्हामले एक गोल उपहार पाएको हो । पहिलो हाफको १२ औं मिनेटमा फ्रेडको पासमा रोनाल्डोले २५ यार्ड नजिकैबाट सुन्दर गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए ।

३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेन्हामलाई बराबरीमा ल्याए । विपक्षी खेलाडी एलेक्स टेलेसले डि-बक्स एरियामा ह्यान्ड गरेपछि टोटेन्हामले पेनाल्टी पाएको थियो । ३८ औं मिनेटमा सान्चोको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए । यस गोलसँगै रोनाल्डो विश्व फूटबलको इतिहासमा सार्वधिक गोल (८ सय ६ गोल)गर्ने खेलाडी बनेका छन् । यसक्रममा उनले जोसेफ बिकेनको नाममा रहेको ८ सय ५ गोलको कीर्तिमान तोडेका हुन् ।

७२ औं मिनेटमा ह्यारी मगायरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि टोटेन्हामले खेलमा २-२ गोलको बराबरी गरेको थियो । यस्तै ८१ औं मिनेटमा एलेक्स टेल्लेसको कर्नर क्रसमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर युनाइटेडलाई ३-२ गोलको जीत दिलाए । रोनाल्डोको यो खेलजीवनको ५९ औं ह्याट्रिक हो ।

जीतसँगै युनाइटेड २९ खेलबाट ५० अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित टोटेन्हाम २७ खेलबाट ४५ अङ्कको साथ सातौं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *