एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिसले समाल्ने भएका छन् । शनिबार एक कार्यक्रममाबीच बैंगलोरले डु प्लेसिसलाई नयाँ कप्तानको रुपमा सार्वजनिक गरेको हो ।
गत संस्करणको समाप्तिसँगै लामो समय कप्तानी गरेका भारतीय स्टार खेलाडी विराट कोहलीले पद छाडेका थिए । बैंगलोरले रिक्त रहेको उक्त पदमा डु प्लेसिसलाई जिम्मेवारी सुम्पेको हो । गत महिना भएको आईपीएलको मेगा अक्सनमा बैंगलोरले डु प्लेसिसलाई ७ करोड भारुमा किनेको थियो । डु प्लेसिसले अन्तराष्ट्रिय क्रिकेटमा कप्तानी गरेपनि उनीसँग आईपीएलमा कप्तानीको अनुभव भने छैन ।
डु प्लेसिसले चारपटक चेन्नाई सुपर किङ्सबाट आईपीएल जितेका छन् । गत संस्करणमा चेन्नाईलाई आईपीएल जिताउन महत्त्वपूर्ण भुमिका खेलेका उनले ६ सय ३३ रन बनाएका थिए । आईपीएलमा १ सय खेल खेलेका उनले कुल २ हजार ९ सय ३५ रन बनाएका छन् । डु प्लेसिसले टि-२० क्रिकेटमा केन्द्रित हुने भन्दै फ्रेब्रअरी २०२१ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।
तर डिसेम्बर २०२० देखि उनी राष्ट्रिय टोलीमा समावेश भएका छैनन् । बैंगलोरले २७ मार्चमा पन्जाव किङ्ससँग खेल्दै यस सिजको आईपीएलको शुरुवात गर्दैछ ।