‘बुद्धि बिग्रिएपछि कसको के लाग्छ?’

पोखरा। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोकाबाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि भनेर’ उनले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नुहुँदैन ।’

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभई पाँचवटा गठबन्धनरूपी बाच्छा जन्मेको टिप्पणी गरे । ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताए । सेटिङमा सबै भइरहेको दाबी गर्दै उनले जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको बताए । उनले भने, ‘अहिले लोकतन्त्रको पक्षमा होइन । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन्, केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो ।’

अहिलेको राजनीतिक दुई धारमा बाँडिएको उनको भनाइ छ । उनले देशको अर्थतन्त्र ध्वस्त पार्ने काम भइरहेको दाबी गर्दै देश बिग्रन नदिन कति बलिदानी दिनुपर्ने हो? भनी प्रश्न गरे । उनले जनतालाई अल्मल्याउने काम गर्नुहुँदैन भन्दै आगामी निर्वाचनले सत्यको सम्मान गर्ने विश्वास व्यक्त गरे ।

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरूको समय बर्बाद बनाउने खालको हुन नहुने सुझाव पनि दिए । ‘समय प्रविधिमय छ, हामी ट्वीटर, फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरूको समय बर्बाद बनाउनुहुँदैन,’ उनले भने, बरु सूचना, ज्ञान दिनेखालको हुनुपर्छ ।’ उनले जीवन उत्पादनमूलक, उपयोगी, समूचित ढंगले जिउनुपर्छ भने । उनले हाम्रो लेखाइ केही अर्थ दिनेखालको हुनुपर्छ भन्दै सोही ढंगले कलम चलाउन पत्रकारलाई सुझाव दिए । उनले भने, ‘देश, जनता र समाज परिवर्तन गर्नेखालको उत्पादनमूलक हुनुपर्छ । हाम्रो बुद्धिको सदुपयोग गर्नुपर्छ । कलमका सदुपयोग गर्नुपर्छ ।’

स्वतन्त्रताको नाममा पितपत्रकारिता गर्नु बेइमानी हुने भन्दै एमाले अध्यक्ष ओलीले निष्ठाको पत्रकारिता, कत्र्तव्यको पत्रकारिता, विकासको पत्रकारिता गर्नुपर्ने सुझाव दिए । उनले राज्यको चौथो अंगबाट राष्ट्रको जिम्मेवारी वहन गर्न प्रेस चौतारीको महाधिवेशनले एकताको सन्देश देओस् भनी सदीक्षा व्यक्त गरे ।

उनले अहिलेको युगमा रामराज्यको व्याख्या गरेर खासै स्वाभाविक नहुने बताए । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पत्ति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,? ओलीले भने, ‘रामराज्य कस्तो थियो रु कसैलाई थाहा छैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कनुपर्छ ।’ राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *