भिजिट भिसामा महिलालाई ‘कडा सर्त’

काठमाडौं। सरकारले महिलाको हकमा भिजिट भिसामा अलि कडा सर्त राख्ने तयारी गरेको छ। भिजिट भिसाका नाममा महिलालाई विदेश पुर्‍याएर गैरकानुनी धन्दामा लगाउने प्रवृत्ति बढेपछि त्यसको नियन्त्रण गर्न कडा सर्त राख्ने तयारी भएको हो। सरकारी कार्यदलले महिलाको हकमा भिजिट भिसामा संवेदनशील बन्न सुझाव दिएको छ। महिला नेत्रीहरूले भिजिट भिसामा महिलाका लागि मात्र कडा सर्त राखिए त्यो संविधानविपरीत हुने भन्दै आपत्ति जनाएका छन्।

वैदेशिक रोजगारीका नाममा मानव तस्करी हुने गरेको गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले माघ ११ गते मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए।

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरीश्चन्द्र पौडेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकाल, अध्यागमन विभागका निर्देशक प्रकाशचन्द्र अधिकारी सदस्य र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दीनबन्धु सुवेदी सदस्य सचिव थिए। कार्यदलले महिलाले विदेश जाँदा विभिन्न सर्त पूरा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ। कार्यदलले भिजिट भिसामा विदेश जाने महिलाका लागि कार्यविधि बनाउनसमेत सुझाएको छ।

कार्यदलले महिलाले विदेश भ्रमण गर्दा उद्देश्य र कार्यक्रम, आधारभूत मापदण्ड, प्रक्रिया र कागजात पूरा भएरनभएको, वैध भिसा, हवाई टिकट, गन्तव्यसम्मको बोर्डिङ पास, होटलरआवास व्यवस्था, भ्रमण अवधिको खर्चको स्रोत देखाउनुपर्ने व्यवस्था गर्न सुझाएको छ।

भिजिट भिसामा विदेश जान महिलाले वार्षिक न्यूनतम पाँच लाख रूपैयाँ करयोग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत गरेको हुनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ। त्यस्तै अध्यागमन विभागको पूर्वस्वीकृति पनि लिनुपर्नेछ। ‘बैक ब्यालेन्स हुनुपर्छ, भाषा अनिवार्य जान्नुपर्छ’, सुझावमा लेखिएको छ, ‘कति समय बस्ने त्यसबारे अध्यागमन विभागको पूर्वस्वीकृति आवश्यक पर्नेछ।’

केही सुझाव अव्यावहारिक भएको गुनासो आएपछि गृह मन्त्रालयले परिमार्जन गर्न लागेको छ। ‘सुझाव केही अव्यावहारिक पनि छन्। त्यस्ता सुझाव परिमार्जन गर्न जरुरी देखियो’, मन्त्रालय स्रोतले भन्यो। कुनकुन सुझाव परिमार्जन गर्ने विषयमा स्रोतले खुलाएन। कार्यदलले फागुन १८ गते गृहमन्त्री खाँणलाई सुझाव प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा दिइएका विभिन्न सुझावमा सञ्चार र अन्य माध्यमबाट आएका प्रतिक्रियाका आधारमा केही संशोधन गर्न लागिएको स्रोतले जनाएको छ।

भिजिट भिसामा विदेश जाँदा कुन प्रयोजनको लागि हो त्यसबारे स्पष्ट खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गर्न सुझाव दिइएको छ। ‘आमन्त्रण वा प्रायोजन खुल्ने कागजात, विदेश यात्राको अनुभव तथा भ्रमण गरेका मुलुक, भ्रमण गर्नेको नेपालमा पेसारव्यवसाय, रोजगारी, वार्षिक औसत आय तथा करसम्बन्धी विवरण, शैक्षिक योग्यता तथा भाषिक दक्षता अंग्रेजी, अन्य र खाडी मुलुकको हकमा अरेबिक भाषा, गन्तव्य मुलुकमा रहेका नाता, सम्बन्ध र परिवार, भ्रमणको प्रकृति, व्यक्तिगत, संस्थागत र सरकारी यी सबै खुल्नुपर्छ’, प्रतिवेदनमा दिइएको सुझावमा उल्लेख छ। सुझावमा राहदानी, भ्रमण तालिकासहितको दुईतर्फी हवाई टिकट र भ्रमणसम्बन्धी कागजात, पेस गरेको राहदानी यात्रु आफैंले अनिवार्य बोक्नुपर्ने व्यवस्था गर्न सुझाइएको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *