दैलेख । दैलेख आठबिस नगरपालिका–७ कोटिलाकी ३० वर्षीया मनसरा कठायत विधवा हुन् । नौ वर्षअघि उनको गाउँकै लालसिंहसँग मागी विवाह भयो । विवाहपछि मनसराले दुई सन्तान जन्माइन् एक छोरा र एक छोरी । लालसिंहको मृत्यु हुँदा छोरी पुष्पाको जन्म भइसकेको थियो । छोरा पुष्प गर्भमै थिए ।
पुष्प अहिले पाँच वर्षका भए । दुवै सन्तान सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत छन् । सात वर्षीया पुष्पा कक्षा एक र छोरा पुष्प नर्सरीमा अध्ययन गर्छन् । एचआईभी संक्रमणले श्रीमान् गुमाइन्, आफू पनि संक्रमणसँग लडिरहेकी छन्
मनसरा पनि छोरा पुष्पजस्तै गर्भमै टुहुरो बनेकी हुन् । उनी गर्भमै हुँदा बाबुको मृत्यु भएको थियो । एक वर्षपछि आमाले दोस्रो विवाह गरेर पराई घर गइन् । घाँस काट्न जाँदा रूखबाट खसेर आमाको मृत्यु भयो । हजुरबुबाको आश्रयमा उनी हुर्किइन् । हजुरबुबाले नै मनसराको विवाह गरिदिए ।
विवाहवारी मनसराको जेठाजुको घरमै भएको हो । विवाहपछि घर बनाउने, छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने मनसराको सोच थियो । तर, विडम्बना, त्यो पूरा हुन सकेन । विवाह भएको चार वर्षमै श्रीमानको मृत्यु भएपछि घर बनाउने उनको सपना चकनाचुर भयो । अहिले पनि मनसरा जेठाजुको घरको एक कोठामा दुई सन्तानसहित बसोबास गरिरहेकी छन् ।
मनसराका श्रीमानको एचआईभी संक्रमणका कारण जिल्ला अस्पतालमा दैलेखमा मृत्यु भएको थियो । उनी पनि संक्रमित छिन् । दुई बालकको रिपोर्ट भने नेगेटिभ छ । एनआरटी औषधिको प्रयोग गर्दै उनी आफ्ना ती नाबालक सन्ततिका लागि संघर्र्षरत छिन् ।
राज्यले एकल महिलाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाहेक दैनिकी गुजार्न अरू कुनै स्रोत नहुँदा उनी समस्यामा रहेको आजको राजधानी दैनिकमा खवर छ ।