काठमाडौं । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो तयारी सुरु गरिसकेको छ भने राजनीतिक दलहरु पनि आ आफ्नो तयारीमा जुटेका छन् । नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिन लागेको छ । एमालेले आफूलाई जस्तोसुकै गठबन्धन बनाएपनि फरक नपर्ने भन्दै गठबन्धनको चुनौति समाना गर्न तयार रहेको बताउँदै आएको छ ।
सत्तारुढ गठबन्धन भने मोर्चा बनाएर चुनावमा जाने तयारीमा छ ।
खासगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेससँग चुनावी तालमेल गरे आफूहरुको राजनीति जोगिने दाउमा छन् । तर गठबन्धनभित्रै पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने एकथरीको मत छ भने अर्काथरी भने तालमेल गरेर जानुपर्ने पक्ष पनि छ । माओवादीको ढुलमुले प्रवृत्ति र माधव नेपालको नयाँ पार्टी भएकाले उनीहरु चुनावी तालमेल गर्न चाहन्छन् । चुनावमा कसरी जाने भन्नेमा अझै यी दुई दल भने अन्यौलमै देखिएका छन् ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले चुनावकाबारेमा दुई थरी निर्णय गरेको छ । नेता वर्षमान पुनका अनुसार स्थानीय निर्वाचनमा आवश्यक चुनावी तालमेलको वातावरण बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलले सम्बन्धित तहमा वार्ता संवाद गर्नेछ । त्यस्तै बैठकले आफ्नै शक्तिमा भर गरेर चुनावमा जाने पनि निर्णय गरेको छ । नेता पुनले भने,‘आफ्नै खुट्टामा उभिएर, आफ्नै शक्तिमा भर गरेर निर्वाचनमा जाने निर्णय भएको छ।’
यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने एमसीसी अनुमोदन नभएको भए आफ्नो पार्टीको अस्तित्व नै समाप्त हुने थियो भन्दै अभिव्यक्ति दिँदै हिँडेका छन् । बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन सोमबारको पोलिटब्यूरो बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘जस्ताको त्यस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले व्याख्यात्मक घोषणासहित वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं।’
माधव नेपालले त संसद भंग गरी तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने प्रस्तावसमेत राखेका छन् । यसो गर्दा स्थानीय तहको निर्वाचन सर्ने भएकाले पार्टीलाई फाइदा हुने उनको दाउ छ । माओवादी र एकीकृत समाजवादी कांग्रेसलाई प्रयोग गरी एमालेसँग बदला लिन लागेका भन्दै कांग्रेस नेताहरु आफनो पार्टी त्यसमा प्रयोग नुहुने बताउँछन् । कांग्रेस नेता डा. मिनेन्द्र रिजाल भन्छन्,‘उहाँहरुलाई कांग्रेसलाई प्रयोग गरेर एमालेसँग बदला लिनु छ । तर हामी प्रयोग हुँदैनौं । अब अर्लि इलेक्सनको सम्भावना छैन । हामी एक्लै चुनावमा जान्छौं।’
माओवादीले एमसीसीका विषयमा पार्टी भित्र असन्तुष्टि बढेपछि आगामी जेठ २० गते बस्ने अर्को केन्द्रीय समिति बैठकमा छलफल गरेर एमसीसीको फरक मतकाबारेमा टुङ्गोमा पुग्ने निर्णय गरेको छ । यत्रो स्थानीय तहको निर्वाचन अघि उसले पदाधिकारी चयनसमेत नगर्ने निर्णय गरेको छ । पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गरी चुनावमा होमिनु पर्नेमा चुनाव अघि त्यो पनि नहुने भएको छ । यसबाट के प्रष्ट हुन्छ भने माओवादी पनि चुनावमा कसरी जाने भन्ने अन्यौलमै छ । कांग्रेसले चुनावी तालमेल नगरे माओवादी र एकीकृत समाजवादीको हालत के होला त ?त्यसका लागि भने वैशाख ३० कुर्नैपर्छ ।
