काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा गरे ।
महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले महिलाको हक–अधिकारका लागि सबै लाग्नुपर्ने बताए । उपराष्ट्रपतिले महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
संविधानले प्रत्येक महिलालाई लैंगिक भेद्भावविना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको बताउँदै उनले जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । साथै उनले महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज जारी गरेकाे सन्देशमा सभामुखले आजको दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रूपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।