काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक संसद विघटन गरे । वर्तमान राजनीतिक समीकरणले राजनीतिक निकास नदिने र ताजा जनादेश मात्रै निकासको विकल्प रहेको ओलीको जिकिर थियो । तर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । ओलीले विघटन गरेको संसद दुईमहिना पछि अर्थात् ०७७ फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापनाको माग गर्दै अहिलेका सत्ता गठबन्धनका दलहरुले सर्वोच्च गुहारेका थिए ।
त्यसपछि २०७७ फागुन २३ गते सर्वोच्चबाट अर्को फैसला आयो जसले एमाले र माओवादीको एकता बदर गरिदियो । त्यसपछि ओलीले २०७८ जेठ ८ को फेरि संसद विघटन गरे । त्यो विघटनविरुद्ध फेरि सर्वोच्चमा मुद्दा पर्यो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश नै दियो । र अहिलेको सत्ता गठबन्धन दलको समर्थनमा प्रधानमन्त्री बने । ओलीको जिकिर थियो कि तजा जनादेशको विकल्प छैन । र अहिले पनि एमालेले अर्लि इलेक्सनको माग गरिरहेको छ । उसले सर्वोच्चको आदेशमा पुनःस्थापना भएको संसदको काम कारबाही अघि बढाउन दिएको छैन ।
ओलीले यसरी संसद विघटन गर्दा त्यसको विपक्षमा उभिएर सडकमा अहिलेका सत्ता गठबन्धनका दलले महिनौं सडक आन्दोलन गरे । एमालेले भनेझैं उनीहरुले ताजा जनादेशमा जान अस्वीकार गरे । तर अहिले एकाएक सत्ता गठबन्धन एमालेको मागमा सहमत जस्तो देखिएको छ । केही दिनदेखि सत्ता गठबन्धनको बैठकमा संसद विघटनको प्रस्तावको बारे छलफल भएको खबर सार्वजनिक भएका थिए । तर त्यसको आधिकारिक कुरा कसैले पनि बोलेका थिएनन् । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार संसद बैठकबाट बाहिरिने क्रममा संसद भंग गरी निर्वाचनमा जानुपर्ने अवस्था आएको बताए । यसबाट के पुष्टि हुन्छ भने सत्ता गठबन्धन पनि अब एमालेको लाइनमा आएको छ । माधव नेपालले भने, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्यो भन्दा पहिले पुरै संसदले नै अब केपी ओलीको बितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने । न संसद रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’
हुन त एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्रीले एमालेसँग सहयोग मागेका थिए । एमालेसँग भएको वार्तामा अर्लि इलेक्सनकाबारेमा कुराकानी भएको बताइएको थियो । नेपाली कांग्रेसका नेताहरुले पनि एमालेको अवरोधलाई देखाएर प्रतिनिधिसभाको विघटन हुनसक्ने चेतावनी दिइरहेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले शनिवार काठमाडौंमा आयोजित कर्मचारी युनियनको कार्यक्रममा प्रतिनिधिसभा विघटन भएर ‘अर्ली इलेक्सन’ हुनसक्ने बताएका थिए। उनले भनेका थिए,‘एमालेले संसद चल्न दिएन भने मंसिर अघि नै चुनाव हुन सक्छ । हामी निर्वाचनमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो ।’
माधव नेपाल र गगन थापाको संसद भंग गरी चुनावमा जानुपर्ने भनाईबाट के कुरा पुष्टि भएको छ भने अब सत्ता गठबन्धन पनि चुनावमै जानुपर्ने मनस्थितिमा पुगेको छ । यदि चुनावमै जानु थियो भने किन सर्वोच्चमा पटकपटक मुद्दा हालेर संसद पुनःस्थापना गराउनतिर गठबन्धन लागेको भन्ने प्रश्न उब्जिएको छ । ओलीलाई प्रतिगमनकारीको संज्ञा दिने गठबन्धनका नेताहरु अहिले संसद भंग गरी कुन मुख लिएर जनतामाझ जालान् त त्यो भने हेर्न केही समय कुर्नै पर्ला ।
