प्रहरीको कुटपिटबाट युवकको मृत्यु भएको विषयलाई लिएर सुर्खेतमा तनाव

कर्णाली । सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका एक युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ प्रहरीको कुटाइबाट घाइते भएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि आफन्त र स्थानीय वासिन्दाले सुर्खेतको वीरेन्द्रनगरको मंगलगडी चोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले सवारी साधन चल्न रोक लगाएका छन् र चोकमा टायर बालेका छन् ।

व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जाँदै थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो । नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर कालिकोट जाँदै गरेका उनलाई सुब्बाकुना चेकपोस्टका प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।

प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको आफन्तले बताएका छन् । हमालका आफन्तले शव बुझेका छैनन् । यसैबीच, घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति बनाएको हो । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन् । समितिले छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *