फूलबारी–पूवाडाँडा सडक कालोपत्र

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका– ३ स्थित फूलबारी–पुवाडाँडा सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा नम्बर ३ सम्म पुग्ने सडक कालोपत्र गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए ।

“स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य, पुशपक्षीजन्य उत्पादनको बजारीकरणकासाथै मानिसलाई आवातजावतमा पनि सहजता पुग्ने गरी सडक कालोपत्र गरेका हौं” उनले भने, “ग्रामीण भेगलाई बजारसँग र बजारलाई ग्रामीण भेगसँग जोडी सामाजिक तथा आर्थिक विकासमा यस सडकले महत्वपूर्ण भूमिका खेल्ने छ ।”

डेढवर्ष अघि चार करोड ९९ लाख ९८ हजारको लागत अनुमानमा बोलपत्र आह्वान गरिएकोमा चार करोड ३१ लाखमा गीता र क्रियटिभ जेभी स्याङ्जाले सडक निर्माण सम्पन्न गरेको हो । ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक सङ्केत र पेन्टिङसहित २.७ किलोमिटर सडक निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको एक करोड, सङ्घीय सांसद विकास कोषबाट ५० लाख र बाँकी गाउँपालिकाको लागत साझेदारीमा उक्त सडक निर्माण सम्पन्न भएको अध्यक्ष पौडेलले जानकारी दिए । पाँच मिटर चौडाइ रहेको उक्त सडक निर्माण कम्पनीले निर्धारित समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *