काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमसीसी विरोधी नेताहरुलाई एउटै मार्चामा गोलबन्द गर्ने अभियानमा लागेका छन् । उनी यो अभियानअन्तर्गत दैनिकजसो एमसीसी विरोधी विभिन्न दलका नेताहरुसँगको भेटवार्तामा लागेका छन् ।
यसैक्रममा बिहीबार महासचिव विप्लवले नेकपा एमालेका नेता डा. भीम रावलसँग भेट गरेका छन् । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई लिएर विप्लव रावललाई भेट्न उनकै निवास पुगेका थिए । विप्लवको सचिवालयका अनुसार भेटमा उनीहरुबीच एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको छ । यसमा रावलले सकारात्मक जवाफ दिएको सचिवालयले जनाएको छ ।
भेटबारे रावलले भने, ‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’
यसअघि बुधबार विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए । एमसीसी संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । एमसीसीकै कारण माओवादी विभाजन हुनेसम्मका खबर सार्वजनिक भइरहेका छन् ।
नेता नारायणकाजीले पार्टीभित्रका एमसीसी विरोधी नेताहरुसँग छलफललाई तीव्र बनाएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता खनाल पनि एमसीसीका कारण असन्तुष्ट बनेका छन् । नेकपा एमालेले संसद बैठक बहिष्कार गरिरहेका बेला नेता रावलले भने संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै अनुमोदन नगर्न सांसदहरुलाई आह्वान गरेका थिए । विप्लव यीनै असन्तुष्ट नेताहरुसँग भेट गरी मोर्चा बनाउनेतिर लागेका छन् ।