काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरिन । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।
पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले परम्पराअनुसार सङ्कल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुगेका थिए । सङ्कल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उनीहरूलाई दक्षिणा प्रदान गरेकी छन् ।
राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ । यो सुरुवातसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो । शोभायात्रालगत्तै पशुपति क्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्वतयारी कार्य सकिएको जानकारी दिएको छ ।
महाशिवरात्रि पर्वका दिन मङ्गलबार बिहान ३ः०० बजे नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ भने महाशिवरात्रिको चारै प्रहर भक्तजनलाई पङ्क्तिबद्ध भएर पशुपतिनाथको दर्शन व्यवस्था मिलाइएको छ ।
कोरोनाबाट बचाउ गर्न भक्तजन र दर्शनार्थीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम गर्नुपर्ने गरी अनुगमन व्यवस्था मिलाइएको छ । पशुपतिनाथ दक्षिणढोका, पश्चिम रुद्रगाडेश्वरबाट दर्शनार्थीलाई मन्दिर प्रवेश मिलाइएको छ ।फाल्गुण कृष्ण एकादशीका दिन आइतबार बिहानै नागाबाबा सर्वाङ्ग भएका छन् ।
पञ्चदेवल पश्चिम डिलमा भारत जुना अखडाबाट केही नागिनी पनि आएका छन् । स्थलगत अनुगमनमा खटिनुभएका पशुपति क्षेत्र विकास कोषका कुमार खतिवडाका अनुसार मन्दिर परिसरमा उत्कृष्ट साधुको आगमन भएको छ । केही रमिते साधु पनि आएका छन् ।
पशुपति गुठी गोश्वाराले धुनी जगाउन ३३ हजार किलो दाउरा साधुलाई वितरण गरेको छ । यो दाउरा प्रतिकिलो १३ रुपियाँका दरले वितरण गरिएको हो । गोरखापत्र दैनिकबाट