चाइना रेल्वे कम्पनीद्वारा अवैध दोहन जारी, अनुगमनमा गएका सिडियो र डिएसपी चुपचाप

जनकपुरधाम । लहान नगरपालिका–१५ स्थित चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट बग्ने खुट्टी खोलामा चाइना रेल्वे कम्पनीले मापदण्डविपरीत एक्साभेटर लगाएर गरिरहेको दोहन अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरीसहितका अधिकारी पुगेका थिए।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले चुरे फेदीमा भैरहेको दोहन अवलोकन गरेर फर्केको दुई साता बितिसक्यो। तर त्यस क्षेत्रमा दोहन रोकिएको छैन।

प्रमुख जिल्ला अधिकारी कवाडीसँगै इलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन दाहाल पनि त्यहाँ पुगेका थिए। प्रजिअ कवाडी र डिएसपी दाहालले नदी दोहन गर्न एक्साभेटर प्रयोग गरेको देखेका थिए। कानुन कार्यान्वयन गर्ने, गराउने यी दुवै अधिकारी अवैध दोहनको निरीह साक्षी बनेर चुपचाप फर्किए।

प्रजिअ कवाडीले दोहनस्थलमै पुगेर त्यहाँ उपस्थित मानिससँग सोधपुछ गरे पनि डिएसपी दहाल ५० मिटर परै उभिएका थिए। चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा ‘स्टोन क्रसर’ समेत कानुनविपरीत सञ्चालन गरेको छ।

फागुन ३ गते धनुषाका स्थानीयको गुनासोपछि प्रहरीले कमला नदीबाट ७ वटा टिपर र एउटा एक्साभेटर नियन्त्रणमा लियो। पूर्व–पश्चिम राजमार्गको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक चार लेनको बनाउन ठेक्का पाएको चाइना रेल्वे कम्पनीले रातिराति कानुनविपरीत नदी उत्खनन गरिरहेको पाइएपछि प्रहरीले उपकरण नियन्त्रणमा लिएको थियो। नागरिक दैनिकबाट

file photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *