लगन र मेहनतले फेरियो भङ्गाहाका किसानको जीवन

महोत्तरी । निरन्तरको मेहनत र कामप्रतिको लगनले महोत्तरी भङ्गाहा नगरपालिकाका उत्साही किसानले आफ्नै ठाउँमा ‘सुन फल्ने’ आहान चरितार्थ गरेका छन् । भङ्गाहा नगरपालिका–४ रामनगरका केही उत्साही किसानको हौसलाले अब सो बस्तीमा ‘गरे के हुँदैन ?’ भन्ने उदाहरण सबैका सामु छर्लङ्ग भएको छ । करिब १०/१५ वर्षअघि गरिबी र अभावले घरगुजारा चलाउन धौधौ परेर कमाउने ध्येयले विदेश जान राहदानी बनाएका सो बस्तीका चन्देश्वर राय दनुवार साहुले ऋण नपत्याउँदा यतै काम खोज्न विवश भए ।

त्यतिखेरको दुःख सम्झँदै उनले भने, “पासपोर्ट बनाएर विदेश जान साहुका घर/घर धाइयो, कसैले ऋण दिन पत्याएनन् ।” त्यतिखेर नै ३० वर्ष उमेर कटेका दनुवारले रकमको अभावले विदेश जान नपाएपछि थोरै जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्न थालिएको बताए ।

“तरकारी खेतीले मलाई हौस्यायो, घरपरिवारका सबै काममा लाग्यौं”, उनले भने, “सुरुका एकाध वर्ष गुजारा चल्यो, त्यसपछि थप जग्गा खोजेर खेती बढायौं, अब उभिनसक्ने बनेका छौं ।” पछिल्लो १०÷१२ वर्षभित्रको अवधिमै दनुवारले तरकारी खेतीकै कमाइबाट पाँच/सात कठ्ठा आफ्नै जग्गा जोडिसकिएको बताए ।

“अब अलिकति आफ्नै पनि जग्गा भयो, ठेक्काको जग्गा पनि बढाएका छौं, कामले भ्याइनभ्याइ छ”, ४५ वर्षीय दनुवारले आफ्नो मेहनतप्रति सन्तोष व्यक्तगर्दै भने, “रोईकराई गरेर दुःख पर्यो भनेर नहुने रहेछ, गर्दा हुने उदाहरण त हामी नै छौं ।”

अब छरछिमेकका दुःखसुखमा पनि कहिलेकाँही गर्जो टार्न सकिदा थप सन्तुष्टि मिल्ने गरेको उनको भनाइ छ । ऋण नपाएर जिङ्राएर बसेको बेला त्यतिखेर जिल्ला कृषि विकास कार्यालय महोत्तरीका कर्मचारीको प्रेरणाले श्री गढीमाई कृषि सहकारी संस्था गठन गरि दिलोज्यानले खेतीमा लागेका सो बस्तीका त्यतिखेरका युवाले केही वर्षभित्रै गरेका प्रगति सबैका लागि अहिले उदाहरणीय बनेको छ ।

सुरुमा जग्गा ठेक्कामा लिएर तरकारी खेती गरेका संस्थामा आबद्ध किसानले पछिल्ला १०/१२ वर्षभित्रै केही जग्गासमेत जोडेर घर व्यवहार राम्ररी चलाउन थालेको बताएका छन् । अहिले सो बस्तीका ३० भन्दाबढी किसान सो संस्थामा आवद्ध छन् ।

पछिल्ला केही वर्षयता तरकारी बालीमात्र नभएर अन्न बालीमा पनि नयाँ प्रयोग गरेर चैते धान र गहुँ खेती सुरु गरिएको संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताए ।

“ठिक्क खेतीका बेला बीउ नपाएर किसान हैरान हुन्छन्, हामीले यो अवस्था अन्त्यका लागि यसको उत्पादन थालेका छौं”, उनले भने, “अहिले हाम्रो उत्पादनका तरकारीमा ओल, मसलामा बेसार र अदुवा अनि अन्नबालीमा चैते धान र गहुँको उन्नत बीउ मुलुकका बिभिन्न भेगमा पठाउन थालेका छौं ।” यहाँ उत्पादित बीउको पूर्व मेचीदेखि पश्चिम माहाकालीसम्म माग हुने गरेको अध्यक्ष यादवको भनाइ छ ।

“हामीले विज्ञकै रेखदेखमा ओल, चैते धान र गहुँको बीउ उत्पादन सुरु गरेका हौं”, उनले भने, “अहिले हाम्रो ध्यान नै माग भएको ठाउँमा बीउ आपूर्ति गर्नमा केन्द्रित छ, पूर्वमा सुनसरी, मोरङ्ग र पश्चिममा डँडेलधुरासम्म हामीले उत्पादन गरेको बीउ गइरहेको छ ।”

विभिन्न जिल्लाका कृषक समूहको समन्वयमा विजय र तिलोत्तमा जातका गहुँको उन्नत बीउ अन्य जिल्लामा पठाइने गरिएको संस्थाले जनाएको छ । त्यसैगरी हर्दिनाथ, राम र बासमती जातका उन्नत धानको बीउ पनि विभिन्न जिल्लाका कृषि सहकारी संस्थाले माग गरेअनुसार पठाइने गरिएको अध्यक्ष यादवले बताउनुभयो । संस्थाले तीन वर्ष पहिलेदेखि नै आम किसानले उत्पादन गरेका ओल र बेसार आफै किन्न थालेको छ । यसले आम किसान बजार जानुपर्ने झण्झटबाट मुक्त भएका छन् ।

घर प्रयोजनमा खान उपयोग गरिने र बीउका लागि फरक÷प्रविधिले बाली उत्पादन हुने गरेको छ । “ मूलबीउबाट सिवन उन्नत बीउ बनाइन्छ”, अध्यक्ष यादवले भने, “हामीले विज्ञको रेखदेखमा सिवन बीउ उत्पादन गरेका छौं, जसको फसल निकै राम्रो हुने गरेको छ ।”

खेतीका बेला गुणस्तरीय बीउको हाहाकार हुने स्थिति आफ्नै भाइभतिजको प्रयत्नले हटेपछि बस्तीका पाका किसान दङ्ग छन् । अब त सानो हलो जोत्ने ट्याक्टर, रोटाभेटर र लाइन कल्टी संस्थासँगै छ । आफ्नै कार्यालय र भण्डार कक्ष बनाएको संस्थाले बीउ, मलखाद्य आपूर्ति गर्ने स्वीकृति पाएपछि खेतीपातीमा धेरै सहज भएको सो बस्तीका किसान इस्लाम राइनले बताए ।

पछिल्ला पाँच वर्षभित्र संस्थाको सक्रियतामा भङ्गाहा–४ का रामनगर, पलार, टोका र प्रेमनगरमा गरि ३० वटा बोरिङ्ग जडान भएपछि सिँचाइमा निकै सघाउ पुगेको सो बस्तीका अर्का किसान जबार शेषको भनाइ छ । पर्ति, बलौटे र ढुङ्ग्यान जग्गाको सबै ठाउँमा पानी पुर्याएपछि जुनसुकै बाली मनै लोभ्याउने गरी लहलहाएको छ । आफ्नै छोरा नातीले गरेको पौरख देख्दा बाटो हिंड्ने बटुवासमेत प्रफुल्लित हुँदै उनीहरुको मिहिनेतबाट दङ्ग पर्ने गरेका सो बस्तीका पाका किसान एक स्वरमा बताउँछन् ।

जग्गा लिज (ठेक्का) मा लिएर खेती सुरु गरेका सो संस्थामा आवद्घ त्यतिखेरका युवा अब सबैजसो उमेरले ४० पार गरेका छन् । अहिलेको नयाँ पुस्ताले यिनको सिको गरे कमाइका लागि विदेश जानुपर्ने अवस्था नआउने पाका किसान दीपबहादुर फुयाँलले बताए ।

आफ्नै बस्तीका अघिल्लो पुस्ताले गरेको पौरख देखेपछि कामकै लागि विदेश जान राहदानी (पासपोर्ट) बनाएका अहिलेका युवापनि खेतीतिर डोरिन लागेका देखिँदो छ । अर्काको पाँच कट्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेती सुरु गरेका संस्थामा आवद्ध बहुरा महतोले खेतीकै पौरखले १० वर्षभित्रै जहान परिवारको प्रतिपाल गरेर पाँच कट्ठा जग्गा जोडेका छन् ।

घरको गरिबीले दिक्क भएर विदेश जाने निर्णय गर्दै राहदानीसमेत बनाएका महतोले साहुले ऋण नपत्याएपछि आफूले भाडामा जग्गा लिएर खेती सुरु गरेको विगत सम्झिए । दिनरात नभनी आफूले गरेको मेहनतले राम्रो सफलता पाएर जहान परिवारको प्रतिपाल गर्दै छरछिमेकमा मर्का पर्दा सहयोग गर्न पाउँदा सन्तोष लाग्ने गरेको उनको भनाइ छ ।

गाउँका धनीमा गनिनेका छोराछोरीसँगै आफ्ना छोराछोरीलाई पनि शिक्षा दिन सकिएकोमा सन्तोष लाग्ने गरेको उनीहरुको भनाइ छ । पहिले जिल्ला कृषि विकास कार्यालय छँदा विज्ञबाट नियमित सुझाव, सल्लाह पाइएको तर अहिले कार्यालय हटेपछि आफूहरु न्यास्रिएको किसान बताउँछन् । अहिले जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय स्थापना भएपनि विज्ञको नियमित अनुगमन भने नभएको उनीहरुको गुनासो छ ।

स्थानीय तहमा कृषि शाखा सञ्चालन गरिने नीति भएपनि सम्बन्धित स्थानीय तहले व्यवस्थित तवरले यो काम नबढाएका किसान बताउँछन् । आफ्नै स्थानीय तहले कृषि शाखा व्यवस्थित सञ्चालन गरिदिए खेतीमा थप सहजता हुने यादवसहितका किसानको भनाइ छ ।

किसानले खेतीसँगै पशुपालनसमेत गर्न थालेपछि जग्गामा चाहिने मलमा पनि आत्मनिर्भर बन्दै गइएको बताएका छन् । अहिले संस्थामा आबद्घ सबै किसानले गाई, भैंसी, बाख्रा र कतिपय किसानले कुखुरासमेत पालन गर्न थालेपछि दुध र मासुको बजारमा पनि यहाँको उत्पादनको माग बढ्दै छ ।

श्री गढीमाई कृषि सहकारी संस्था भङ्गाहा—४ रामनगरमा आबद्घ किसानले जिल्लाकै उत्कृष्ट मिहिनेती किसानको पहिचान बनाएका छन् । संस्थामा आबद्घ किसानले केही वर्षभित्रै खेतीबाटै राम्रो आम्दानी गरेर पैसाकै लागि विदेशिने युवाका लागि गाउँघरमै बसेर मिहिनेत गर्ने सन्देशसमेत दिएको कृषि क्षेत्रमा लामो सरकारी सेवाबाट निवृत्त भएका कृषि विज्ञ पूर्वसहसचिव भङ्गाहा–५ सीतापुरका बासिन्दा रामबहादुर भुजेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *