नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा हरि खड्का दोषी ठहर

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बिहीबार मुद्दामा सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो ।

महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । खड्का गत वर्ष राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका थिए ।

उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षकसमेत हुन् । नेपालमा २०७६ सालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग पछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

उनी १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *