काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएसंगै पदबाट राजीनामाको माग बढेको छ । भारतमा रहेका नेपाली नागरिकसंग भएको संवादमा मन्त्री आलेले अश्लिल गाली गलौज गर्दै अपहरण गर्ने धम्की दिएको सुनिन्छ ।
सार्वजनिक अडियोको सत्यताबारे भने मन्त्रीआलेले मुख खोलेका छैनन् । सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएसंगै राजीनामाको माग उठेको छ । एमाले सचेतक शान्ता चौधरीले मन्त्री आलेको हर्कत क्षम्य नभएको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’ त्यस्तै, एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गरेका छन्।
मन्त्री आलेको सार्वजनिक भिडियोको बचाउँ गर्दै सचिवालयले भने एक वर्ष अघि गरेको कुराकानी भएको दाबी गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रूपमा आफूलाई चिनाउँदै आएका जगत ओलीले उक्त भिडियो आफ्नो फेसबुक एकाउन्टमार्फत सार्वजनिक गरेका हुन् ।
मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले भिडियो एक बर्ष पहिलेको भएको दाबी गरेका छन् । तर, भिडियो सार्वजनिक युवाको फेसबुक प्रोफाईल हेर्दा एक बर्ष अघि उनी आलेका फ्यान रहेको बुझ्न सकिन्छ । आले एकीकृत समाजवादीमा प्रवेश गरेयता उनले समाजिक सञ्जालबाट आलेको चर्को बिरोध गर्दै आएका थिए ।