लुक डि योङको गोलमा बार्सिलोना हारबाट जोगियो

एजेन्सी । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुक डि योङले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति स्पेनिस लिग अन्तर्गत भएको क्याटलान डर्बीमा बार्सिलोना र इस्पानीयोलले २-२ गोलको बराबरी खेलेका हुन् ।

आरसिडीइ रंगशालामा भएको खेलमा इस्पानीयोलको लागि सेर्जी डार्डेर र राहुल डे टोमासले गोल गर्दा बार्सिलोनाको लागि पेड्री र लुक डि योङले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमै जोर्ड्री अल्बाको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा राहुलको पासमा सेर्जीले गोल गर्दै इस्पानीयोललाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा सेर्जीको पासमा राहुलले गोल गर्दै इस्पानीयोललाई २-१ गोलको अग्रता दिलाए । इन्जुरी समयको छैटौं मिनेट एडम ट्राओरेको क्रसमा लुक डि योङले गोल गर्दै बार्सिलोनाको हार टारे ।

लगत्तै मानु मोर्लानेस रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इस्पानीयोल ९ खेलाडीमा समेटिएको थियो । यसअघि इन्जुरी समयको दोस्रो मिनेटमा बार्सिलोनाका जेराड पिके र इस्पानीयोलका निको रिबाउडो रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

बराबरीसँगै बार्सिलोना २३ खेलबाट ३९ साथ लिगको चौथो स्थानमा छ भने इस्पानीयोल २४ खेलबाट २८ अङ्कको साथ १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *