काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल)को मेगा अक्सनमा ‘अनसोल्ड’ भएका हुन् । बेंगलोरमा भएको अक्सनको पहिलो दिनको समाप्तिमा कुनैपनि फ्रेन्चाइज टोलीले बोली नलगाएपछि सन्दीप लगातार दोस्रो वर्ष ‘अनसोल्ड’ भएका हुन् ।
सन्दीपले आफ्नो न्युनतम मुल्य ४० लाख भारु राखेका थिए । गत वर्षपनि सन्दीप अनसोल्ड भएका थिए । सन् २०१८ मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा किनेको थियो । २०२० सम्म दिल्लीमा बिताएका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा सन्दीपलाई दिल्लीले फुकुवा गरेको थियो ।
अक्सनको पहिलो दिनको समाप्तिमा इसान किसान सबैभन्दा महँगो मूल्यमा बिकेका छन् । उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारुमा किनेको हो । यस्तै दिपक चाहार १४ करोडमा चेन्नई सुपर किंग्स, श्रेयस आयर १२ करोड २५ लाखमा कोलकाता नाइट राईडर्स, सार्धुल ठाकुर १० करोड ७५ लाखमा दिल्ली क्यापिटल्स, हर्सल पटेल र वानिन्डु हासारांगा १० करोड ७५ लाखमा रोयल च्यालेन्जर्स बैंगलोरमा बिक्दा सुरेश रैना, एडम जाम्पा, मुजिब जदरान, इमरान ताहिर, अदिल रसिद, उमेश यादव, स्टिभ स्मिथ, अमित मिश्रा जस्ता खेलाडीलाई कसैले बोली लगाएनन् ।