चारदेशीय टि-२० सिरिज: आज नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारि चारदेशीय टि-२० आई सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र युएई भिड्दैछन् । अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ११:४५ बजे शुरु हुनेछ ।

शुक्रबार भएको खेलमा दीपेन्द्र सिंह एरिको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियोे । नेपाल आज हुने खेल जित्दै सिरिजमा लगातार दोस्रो जीत निकाल्न चाहन्छ । नेपालले युएई विरुद्ध भएको पछिल्लो ३ भेट मध्य २ खेलमा जीत निकाल्दा एक खेलमा हार बेहोरेको छ ।

युएईले सिरिज अगाडि ओमानविरुद्ध खेलको ३ एकदिवसीय खेलमा २ खेल जित्दा १ खेल बराबरीमा टुङ्गिएको थियो । त्यसैले युएई राम्रो लयमा रहेको छ । नेपालविरुद्ध पछिल्लो दुई खेलमा पराजित भएको युएई आजको खेल जित्दै बदला लिन चाहन्छ ।

चारदेशीय सिरिज अन्तर्गत हिजो हुने भनिएको युएई र आयरल्यान्डबीचको खेल स्थगित भएको थियो । आयरल्यान्डका खेलाडीको किट समयमा नआएपछि आईसीसीले खेल स्थगित गरेको थियो ।

नेपाली टोलीमा धेरै युवा खेलाडी रहेकाले यस सिरिजमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा टोलीको मनोबल बढ्नेछ ।

ग्लोबल छनोट ‘ए’मा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, जर्मनी, आयरल्यान्ड र बहराइन रहेका छन् । छ्नोट खेल १८ फेब्रुअरी देखि २४ फेब्रुअरीसम्म ओमानमै हुनेछ । नेपालको समूह ‘ए’मा क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मा युएई, बहराइन, जर्मनी र आयरल्यान्ड रहेका छन् ।

दुवै समूहबाट शिर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने त्यसबाट फाइनल प्रवेश गर्ने टोलीले अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान सुरक्षीत गर्नेछन् । नेपालले १८ फेब्रुअरीमा घरेलु टोली ओमानसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । दोस्रो खेलमा १९ फेब्रुअरीमा फिलिपिन्सको सामना गर्नेछ भने समूहचरणको अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *