काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले बराबरी खेलेको छ । शुक्रबार बेलुकी भएको खेलमा जावलाखेल युथ क्लबसँग १-१ गोलको बराबरी खेल्दै आर्मीले उपाधिको झिनो आशा कायम राखेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलको लागि ओन्गुना केङुए जुनियरले एक गोल गर्दा आर्मीको लागि सुमन लामाले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाएका थिए ।
इन्जुरी समयको सातौं मिनेटमा जगजित श्रेष्ठको क्रसमा सुमनले गोल गर्दै आर्मीको हार टारे । बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । यससँगै आर्मीले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । हाल आर्मी १० खेलबाट १८ अङ्कको साथ तेस्रो स्थानमा छ भने समान खेलबाट ९ अङ्क जोडेको जावलाखेल ११ औं स्थानमा छ ।