दीपेन्द्रको शानदार ब्याटिङ प्रदर्शनमा नेपाल विजयी

काठमाडौं । युवा ब्याट्सम्यान दीपेन्द्र सिंह एरीको शानदार ब्याटिङ प्रदर्शनको मद्दतमा नेपालले चारदेशीय टि-२० सिरिजको पहिलो खेलमा जीत निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गर्दै सिरिजमा सुखद शुरुवात गरेको हो ।

जीतको लागि १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमै ४ विकेटको क्षतिमा १ सय ३७ रन बनाउँदै लक्ष्य भेट्टायो । नेपाललाई जीत दिलाउन दीपेन्द्र सिंह एरीले अर्धसतक पूरा गरे । उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले ५३ बलमा ७३ रन जोडे । उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै अरिफ शेखले २० बलमा ३ चौकासहित २५ रन बनाउँदा असिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १४ र प्रदिप एरि र शरद भेषावकरले ४/४ रनको योगदान गरे ।

ओमानको लागि कालेमुल्लाहले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । खवर अलीले ४ ओभरमा ३१ रन दिएर १ विकेट लिए ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन जोडेको थियो । ओमानको लागि जेशन माक्सोदले सर्वाधिक ४३ रन जोडे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । मोहम्मद नदेमले ३० बलमा २ चौकाको सहयोगमा ३१ रन बनाउँदा जतिन्दर सिंहले १३, काश्याप प्रजापति, सोइब खान र आयन खानले ११/११ रनको योगदान गरे ।

नेपालको लागि अविनाश बोहोराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिँदा कमल सिंह एरी, अरिफ शेख र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

पहिलोपटक नेपाली टोलीको कप्तानको जिम्मेवारी निर्वाह गरेका सन्दीप लामिछानेले पहिलो खेलमै जीत निकालेका छन् । जीतसँगै नेपालले दुई अङ्क जोडेको छ । भोलि हुने दोस्रो खेलमा नेपालले युएईको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *