काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जीत निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा ब्रीगेड ब्वाइज क्लब(बीबीसी)लाई ५-२ गोलले हराउँदै फ्रेन्ड्स लिगमा पहिलो जीतको स्वाद चाखेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सलाई जीत दिलाउन जोमोउल एन्थोनी फ्रान्कोइस र सुशुल शाहले दुई/दुई गोल गर्दा श्याम बाबू क्यापच्किले एक गोल थपे । बीबीसीको लागि अनिल गुरुङ र डाडी जुनियर वाम्बाले एक/एक गोल फर्काए । खेलको १४औँ मिनेटमा सुशीलले फ्री–किकमार्फत गोल गर्दै फ्रेन्डसलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए । खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्डसलाई ३–१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्री–किकमा उनले गोल गरे । खेलको ७६औँ मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ४–१ को अग्रता दिलाए । ७८औँ मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ५–१ को अवस्थामा पु¥याए । प्रिजेनको पासमा उनले गोल गरेका थिए ।
८६औँ मिनेटमा विग्रेड ब्वाइजका अनिलले पेनाल्टीमार्फत एक गोल थपे पनि फ्रेन्ड्स ५–२ ले विजयी भयो । पहिलो जीतसँगै अङ्क तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस तत्कालका लागि रेलिगेसन जोनबाट जोगिएको छ । दश खेलबाट ६ अङ्क जोडेर फ्रेन्ड्स १२औँं स्थानमा उक्लिएको छ । हारसँगै समान ६ अङ्क नै रहे पनि बिबिसी अङ्क तालिकाको १३औँ स्थानमा छ । त्यस्तै ५ अङ्क बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ ।