विगतको जस्तो मतपत्र च्यातेर निर्वाचन जित्ने सपना नदेखे हुन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई बत्ती निभाएर र मतपत्र च्यातेर निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरेका छन् । स्थानीय तहको चुनावको सन्दर्भमा पार्टीले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतको जस्तो मतपत्र च्यातेर निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरेका हुन् ।

उनले स्थानीय तहमा एमालेको बर्चश्व रहेकाले आफ्नो पार्टीको बहुमत आउने दाबी गरे । उनले भने, ‘अबका निर्वाचनहरुमा बत्ती निभाएर र मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ।’

उनले विगतको निर्वाचनमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब पनि त्यो स्थान कायम हुने दाबी गरे । उनले सत्ता गठबन्धनमा संविधान कार्यान्वन हुन पनि नदिने र संविधानको उपलब्धिको रस चुस्नेहरु रहेकाले उनीहरुलाई निर्वाचनका माध्यमबाट पराजित गर्नुपर्ने बताए ।

उनले भने,‘गठबन्धनमा संविधानको सपथ पनि लिने अनि कालो दिनको रुपमा पनि मनाउने छन् । अनि उनीहरुनै उपलब्धिको रस पनि चुसिरहेका छन् । त्यस्ता प्रतिक्रियावादीहरुलाई निर्वाचनबाट पराजित गर्नुपर्छ।’ अध्यक्ष ओलीले नेकपा एमाले, वौद्धिक क्षेत्र र सञ्चार माध्यमको दबावले मात्र सरकार चुनाव घोषणा गर्न बाध्य भएको बताए । उनले सत्तारुढ गठबन्धन एमालेको बहुमत आउन देखेर स्थानीय तहको निर्वाचनबाट डराएको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भीर खेलबाड गरेको आरोप लगाए । उनले सभामुख अग्नीप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौंता अघि बढ्न नदिएको भन्दै आपत्ति समेत जनाए ।

सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादा विपरितका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंसा गरेकोमा आफूलाई सरम लागेको बताए ।

उनले भने, ‘अध्यक्षको हैसियतले लेखेको भनेर अनि कुन पार्टीको प्रमुख हुन र एमसीसीको प्रमुख ? अर्को कुन–कुन पार्टीको अध्यक्षले लेख्नु पथ्र्याे ? गठबन्धनभित्र पनि दुईटा अध्यक्षले लेख्ने कुरा । अरु अध्यक्षहरुलाई थाहा छ कि छैन ? तर देश त गम्भीर खेलवाड, खेलाँची, गैरजिम्मेवारपनको सिकार भइराखेको छ । यस कुराप्रति हामी गम्भीर छौं । र म के भन्न चाहन्छु भने सरकारले निर्णयार्थ संसदमा दर्ता गरेको चिजलाई रोक्ने अधिकार सभामुखलाई छैन । कर्तव्य होइन । र उनले त्यो अनधिकृत ढंगले बल मिच्याई गरेका छन् । यस्तो कुरा यो गठबन्धनको निरिहता हो । पदलोलुपता हो । सत्तामोह हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *