USAID

आज नेपाल र ओमान भिड्दै

काठमाडौं । चारदेशीय टि-२० आई सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र ओमान भिड्दैछन् । ओमानको अल अमेराटमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:३४ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हिमालयन टेलिभिजनले गर्नेछ भने युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ ।

टि-२० विश्वकपमा दोस्रो पटक छनोट हुने लक्ष्यसाथ ओमान पुगेको नेपाली टोलीले छनोटको तयारीको रुपमा चारदेशीय सिरिज खेल्न लागेको हो । चार देशीय सिरिजनमा घरेलु टोली ओमानसहित, युएई, आयरल्यान्ड र नेपाल रहेका छन् ।

नेपाली टोली आजको खेल जित्दै सिरिजमा शुखद शुरुवातको लक्ष्यमा रहेको छ । ग्लोबल छनोट ‘ए’ अगाडि नेपाललाई आफ्नो कमजोरी सुधार्ने अवसरपनि यस सिरिजले दिएको छ । आज नेपाल ओमान विरुद्ध हारको बदला लिन चाहन्छ । सन् २०१९ मा भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

लेग स्पिनर सन्दीप लामिछानेले नेपाली टोलीको पहिलो पटक कप्तानी गर्दैछन् । कलिलो उमेरमै राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका सन्दीप पहिलो खेलमै जीत निकाल्ने दाउमा छन् । टोलीमा धेरै युवा खेलाडी रहेकाले यस सिरिजमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा टोलीको मनोबल बढ्नेछ ।

ग्लोबल छनोट ‘ए’मा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, जर्मनी, आयरल्यान्ड र बहराइन रहेका छन् । छ्नोट खेल १८ फेब्रुअरी देखि २४ फेब्रुअरीसम्म ओमानमै हुनेछ । नेपालको समूह ‘ए’मा क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मा युएई, बहराइन, जर्मनी र आयरल्यान्ड रहेका छन् ।

दुवै समूहबाट शिर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने त्यसबाट फाइनल प्रवेश गर्ने टोलीले अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान सुरक्षीत गर्नेछन् । नेपालले १८ फेब्रुअरीमा घरेलु टोली ओमानसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । दोस्रो खेलमा १९ फेब्रुअरीमा फिलिपिन्सको सामना गर्नेछ भने समूहचरणको अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *