श्रमिकमाथि शोषण गर्नेलाई कडा कारबाहीः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा मंगलबार मन्त्रालयले सरोकारवालासँग गरेको छलफलमा उनले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए ।

आफूले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरुलाई सरकारले हदैसम्मको कारवाही गर्ने उनको भनाइ थियो ।

नेपाल र युएईबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनःएकीकरण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन जस्ता विषयलाई प्राथमिकता दिने उनले बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमिकमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए ।

उनले बैठकमा नेपालले सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धिलगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने बताए ।

कार्यक्रममा सहभागीले युएईमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । नेपाल र युएईबीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा त्यहाँको सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ जाँदैछ । सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *