एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले लिगमा गोलविहिन यात्रालाई पुर्णविराम लगाएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले शानदार जीत निकालेको छ ।
गएराति लिग वान अन्तर्गत भएको खेलमा लिललाई ५-१ गोलले पराजित गर्दै पीएसजीले लिगमा आफ्नो अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याएको हो । स्टाडे पेरे-माउरेमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन डानिलो पेरेराले दुई गोल गर्दा कालियन एम्बाप्पे, लियोनल मेस्सी र प्रेसनेल किम्पेम्बेले एक/एक गोल गरे । लिलको लागि स्भेन बोटम्यानले एक गोल फर्काए ।
खेलको दसौ मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा हाटेमको पासमा बोटम्यानले गोल गर्दै लिललाई बराबरीमा ल्याए । ३२ औं मिनेटमा मेस्सीको पासमा किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
५१ औं मिनेटमा पेरेडेसको पासमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सहज जीततर्फ अगाडि बढाएका थिए । ६७ औं मिनेटमा भेराटीको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ५-१ गोलको जीत दिलाए ।
जीतसँगै पीएसजी २३ खेलबाट ५६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । पराजित लिल समान खेलबाट ३२ अङ्क जोड्दै लिगको ११ औं स्थानमा रहेको छ ।