वेस्ट इन्डिजमाथि भारतको जीत

एजेन्सी । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले जीत हात पारेको छ । आइतबार बेलुकी सम्पन्न पहिलो एक दिवसीयमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

जीतको लागि १ सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको भारतले २८ ओभरमै ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाउँदै लक्ष्य भेट्टायो । भारतलाई जीत दिलाउन कप्तान रोहित शर्माले अर्धसतक पूरा गर्दा सुर्यकुमार यादव, इसान किसान र डेब्यु खेल खेलेका दिपक होन्डाले मध्यम प्रदर्शन गरे ।

रोहितले ५१ बलमा १० चौका र १ छक्काको मद्दतमा ६० रन जोडे । सुर्यकुमार यादवले अवजीत रहँदै ३६ बलमा ५ चौकाको सहयोगमा ३४ रन जोडे ।

यस्तै, इसान किसानले २८, दिपक होन्डाले २६, ॠषव पन्तले ११ र विराट कोहलीले ८ रन जोडे । वेस्ट इन्डिजको लागि अल्जारी जोसेपले ७ ओभरमा ४५ रन दिएर २ विकेट लिए । अकेल होसेनले ९ ओभरमा ४६ रन दिएर १ विकेट लिए ।

यसअघि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १ सय ७६ रन जोडेको थियो ।

इन्डिजको लागि जेसन होल्डरले अर्धसतक प्रहार गर्दा अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । होल्डरले ७१ बलमा ४ छक्काको मद्दतमा ५७ रन जोडे ।

यस्तै फाबिएन एलिनले २९, निकलोस पोरान र डेरान ब्राभोले १८/१८, ब्रानडोन किङ र एल्जारी जोसेपले १३/१३, शमारह ब्रुक्सले १२ र शाही होपले ८ रन जोडे । भारतको लागि युज्वेन्द्र चहालले ९.५ ओभरमा ४९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए ।

वासिङटन सुन्दरले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । प्रसिद्ध कृष्णको नाममा २ र मोहम्मद सिराजको नाममा १ विकेट रह्यो । अब दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *