USAID

बालबालिकालाई एक स्थानबाट अर्काे स्थानमा लैजानु परे प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिनेलगायत संरक्षणको नाममा गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ ।

बाबुआमा तथा आफ्ना अभिभावकबाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ ।

“सामाजिक धार्मिक वा अन्य प्रकारका सङ्घसंस्थाको नाममा बालबालिका लिने र उनीहरूलाई विदेश पठाउने, घरेलु कामदारका रूपमा प्रयोग गर्ने, यौन शोषण गर्नेलगायत गैरकानुनी क्रियाकलामा सहभागी गराएको भन्ने गुनासा तथा उजुरी प्राप्त भएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

जारी विज्ञप्तिमा बाबुआमा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत बालबालिकालाई नेपालभित्र एक स्थानबाट अर्काे स्थानमा लैजानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने व्यवस्था रहेको उल्लेख छ ।

नेपालबाट विदेश लैजानुपरेमा शैक्षिक प्रयोजनका लागि भए शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्रको आधारमा र त्यस्तो पत्र जारी नहुने हकमा सम्बन्धित स्थानीय प्रशासनको स्वीकृति हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अन्य प्रयोजनका लागि भएमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृतिपत्र भएमा मात्रै लैजान पाउने व्यवस्था रहेको जानकारी गराएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.