उच्च अदालतले ७५ लाख धरौटी मागेको रायभारसँग सर्वोच्चले माग्यो २५ हजार

काठमाडौँ । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार घरौटीमा रिहा गर्न आदेश दिएको हो । गत फागुनमा पाटन उच्च अदालतले उनीसँग ७५ लाख धरौटी मागेको थियो ।

धरौटी बुझाउन नसकेपछि उनी थुनामा रहेका थिए । सर्लाहीका सरोजकुमार मिश्रले जागिर लगाइदिने प्रलोभनमा उमाशंकरको नागरिकता लिई हस्ताक्षर र ल्याप्चेसमेत दुरुपयोग गरेर विभिन्न कम्पनी खोलेका थिए । ती कम्पनीहरूबाट करिब १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी गरेको भन्दै मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो ।

त्यसमध्ये रायभरमाथि २८ करोड रुपैयाँ ठगी गरेको अभियोग थियो । सर्वोच्च अदालतले कसुरमा रायभरको भूमिका, त्यहाँबाट उनले लाभ नलिएको अवस्था र उनको पारिवारिक स्थितिलाई समेत विचार गरी २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतमा रायभरको तर्फबाट अधिवक्ता राधिका खतिवडा, टीकाराम भट्टराई, सुनिल पोखरेल, जनार्दन बन्जाडे र अञ्जना अर्यालले निःशुल्क रुपमा बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *