सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज । ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक बुधबार भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको स१०प ४६३५ नम्बरको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना३ख ९९३२ नम्बरको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खीलाराज खतिवडाले जानकारी दिए ।

शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
ट्रकमा आगलागी
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ । कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । उनले भने, “ट्रकचालक पनि सम्पर्कमा आएका छैनन् ।”

अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उनले बताए । ट्रक भने पूर्णरूपमा जलेको छ । यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । यसअघि एक महिना अगाडि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *