तीनै तहका निर्वाचन समयमै हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन् । शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिंहको पुस्तक द स्ट्रगल अफ गणेशमान सिंह को लोकार्पण पछि पत्रकारहरुसँग कुरा गर्दै सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका हुन् ।

संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दिए ।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो । ‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरु मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

फरक प्रसंगमा नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको आरोप लगाउँदै भने, ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो,’ ‘तर, अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भने।’

१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिस्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए। ‘१३ औँ मा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने,’ उनले प्रश्नगरे, ‘आज १४ औँ मा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु भन्दै दोस्रो चरणमा आफूले शेरबहादुर देउवालाई विधि सम्मत पार्टी संचालन गर्ने प्रतिबद्धता अनुरुप सहयोग गरेको भन्दै पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई आफूले स्वभाविक रुपमा लिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *