काठमाडौं। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् ।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन । गत १४ साउन बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओपश्चात् पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।
सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो । नेपाल धितोपत्र बोर्डले बुधबार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएको हो ।
बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीका अनुसार ती कम्पनीहरूले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र सूचीकरण र आह्वानपत्र स्वीकृतिको काम भने गर्न बाँकी नै छ ।
बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।
त्यस्तै, ग्रिन भेन्चरस लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २८ फागुन २०७७ बाट धितोपत्र बोर्डमा निवेदन दिएको थियो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २४ असार २०७८ बोर्डमा निवेदन दिएको थियो । नेस्डो लघुवित्तले भने ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्रीका लागि ६ असार २०७८ निवेदन दिएको थियो ।
बोर्डमा ३१ कम्पनीको ८ अर्ब ५० करोड ८७ लाख ८४ हजार ४ सय रुपैयाँबराबरको ७ करोड ८३ लाख ६७ हजार ८ सय ४४ कित्ता आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा रहेका छन् ।
हाल धितोपत्र बोर्डमा यी पाँचवटा कम्पनीसहित ३१ वटा कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । राजधानी दैनिकबाट